मुडे घार छोडेर आधुनिक घारमा मौरीपालन गर्दै रुपबहादुर

 


मुगु : पछिल्लो समय वैदेशिक रोजगारीका लागि युवाहरू विदेशिन थालेपछि गाउँघर युवाविहीन बन्दै गएका छन्। यस्तै अवस्थामा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् मुगुको छायाँनाथ रारा नगरपालिका–६, लिउडीका ४५ वर्षीय रुपबहादुर सेजुवालले।

सेजुवालले आफ्ना बुबा–बाजेबाट सिकेको परम्परागत मौरीपालन व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा अगाडि बढाएका छन्। विगतमा मुडे घारमा मौरी पाल्दै आएका उनले जिल्ला कृषि विकास कार्यालय मुगुबाट मौरीपालन सम्बन्धी प्राविधिक ज्ञान र आर्थिक सहयोग पाएपछि आधुनिक घारमा मौरीपालन सुरु गरेका हुन्। हाल उनी वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

करिब २०–२५ वर्षदेखि मौरीपालन गर्दै आएका सेजुवालले सुरुमा ६०–७० वटा मुडे घारमा मौरी पालेका थिए। त्यसबेला कुनै सरकारी निकायबाट न त आर्थिक सहयोग पाएका थिए, न त प्राविधिक तालिम नै। उनले बाजे–बुबाबाट सिकेको परम्परागत ज्ञानकै आधारमा मौरीपालन गर्दै आएका थिए।

पछिल्ला वर्षहरूमा महको बजार माग बढ्दै गएपछि उनले यस व्यवसायलाई थप विस्तार गर्ने सोच बनाए। “अन्य पेशाभन्दा कम लगानी र मेहनतमै राम्रो आम्दानी हुने भएकाले मौरीपालनलाई नै निरन्तरता दिएको हुँ,” सेजुवाल भन्छन्। उनका अनुसार हाल मौरीपालनबाट वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ, जसबाट घरखर्च र बालबच्चाको पालनपोषण चलिरहेको छ।

जिल्ला कृषि विकास कार्यालय मुगुको २ लाख ५० हजार रुपैयाँ र आफ्नै २ लाख ५० हजार रुपैयाँ गरी कुल ५ लाख रुपैयाँको लागतमा उनले आधुनिक मौरीघार राख्ने संरचना तथा ५० वटा सुधारिएको घार निर्माण गरेका छन्। तीमध्ये हाल १० भन्दा बढी घारमा मौरी प्रवेश गरिसकेको उनले बताए।

“अझै पनि पर्याप्त स्थान नहुँदा केही घार घरछेउ, वनपाखा र भिरपाखामा राख्नुपरेको छ। विदेश जानुभन्दा आफ्नै ठाउँमा कुनै न कुनै व्यवसाय गर्दा राम्रो फाइदा हुँदो रहेछ,” उनले भने। साथै मौरीसम्बन्धी पर्याप्त ज्ञानको अभावका कारण बेला–बेला मौरी मर्ने समस्या रहेको भन्दै मौरी बीमाको व्यवस्था भए कृषकलाई थप राहत पुग्ने उनको भनाइ छ।

यस्तै, छायाँनाथ रारा नगरपालिका–६ कै अर्का मौरीपालक कृषक लालबहादुर रावलले २०४२ सालदेखि स्थानीय मौरी पाल्दै आएको बताए। “चार दशकदेखि मौरीपालनबाटै घरखर्च, बालबच्चाको पढाइ र अन्य आवश्यकताहरू पूरा गर्दै आएको छु,” उनले भने।

रावलका अनुसार हिमाली जिल्ला मुगु मौरीपालनका लागि निकै उपयुक्त क्षेत्र हो। मौरीलाई आवश्यक आहारा प्रशस्त पाइने, कम लगानी र कम मेहनतमै राम्रो आम्दानी हुने भएकाले यो व्यवसाय सम्भावनायुक्त रहेको उनको भनाइ छ। यद्यपि मुगुको चिसो मौसमका कारण आधुनिक घारको व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले आफू अझै पनि मुडे घारमै निर्भर रहेको उनले बताए। उनले सामान्य तालिम पाए पनि हालसम्म कुनै सरकारी निकायबाट उपकरण वा अनुदान नपाएको गुनासो गरे।

जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीका अनुसार मुगुमा मौरीपालनको राम्रो सम्भावना रहेको छ। कार्यालयले प्रत्येक वर्ष मौरीपालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

“यो वर्ष मात्र लिउडीका कृषक रुपबहादुर सेजुवाललाई २ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ। उनको समेत लगानीमा आधुनिक घार राख्ने संरचना निर्माण गरिएको छ र ५० भन्दा बढी घार स्थापना गरिएका छन्,” अधिकारीले बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा मात्र मुगु जिल्लाबाट १ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको मह उत्पादन तथा कारोबार भएको छ।

हिमाली जिल्ला मुगुमा मौरीपालनको प्रचुर सम्भावना रहेकाले व्यावसायिक कृषकहरूको पहिचान गरी तालिम, गोष्ठी तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके मुगुलाई मह उत्पादनमा आत्मनिर्भर जिल्ला बनाउन सकिने सरोकारवालाहरूको भनाइ छ।