गणतन्त्र दिवसका अवसरमा जुम्लामा दीप प्रज्वलन तथा शैक्षिक सामग्री वितरण

जुम्ला : गणतन्त्र दिवसका अवसरमा जुम्लामा विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएका छन्। सामाजिक विकास कार्यालय जुम्लाको सहयोगमा जिल्ला स्थित सरोकारवाला निकायहरूले फरक क्षमता भएका बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेका हुन्।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढा का अनुसार जनता माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना फरक क्षमता भएका बालबालिकालाई उक्त सामग्री हस्तान्तरण गरिएको हो। उनका अनुसार गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक उत्तरदायित्व र समावेशी भावनासँग जोडेर कार्यक्रम सञ्चालन गरिएको बताए।

त्यसैगरी,यश पटक १७ओैँ गणतन्त्र दिवसको अवसरमा साँझ ७ बजे जुम्लास्थित कृष्ण मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्य, जिल्ला समन्वय अधिकारी रोम बहादुर महत, प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, देविदत्त गणका गणपति धिरज थापा, जिल्ला प्रहरी कार्यालय जुम्ला ,उद्योग बाणिज्य संघ,लगायत विभिन्न कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले गणतन्त्र दिवसका अवसरमा सरसफाइ कार्यक्रम, सरकारी कार्यालयहरूमा दीप प्रज्वलन, फरक क्षमता तथा सुस्त मनस्थिति भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण लगायतका कार्यक्रम आयोजना गरिएको दिवस मनाएकाे जानकारी दिए।

नेपालमा २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। त्यसयता प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ। यो दिवसले नागरिक सर्वोच्चता, समावेशी शासन व्यवस्था, लोकतान्त्रिक अधिकार तथा सामाजिक समानताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।