कर्णालीमा हराएका दुई बालबालिकाको खोजी जारी

मुगु : मुगम कार्मारोङ गाउँपालिका–२ सिरानीचौरस्थित मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन्। शुक्रबार बेलुकी करिब ६ः५० बजे नदी किनारमा खेलिरहेका क्रममा उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी ३ वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका ३ वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेका छन्।

स्थानीयवासीका अनुसार शुक्रबार साँझ नदी किनारमा खेलिरहेका बेला कर्णाली नदीले उनीहरूलाई बगाएको हो। घटनाबारे साँझ ७ः३० बजे यार्सा संकलन सुरक्षा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षक धनबहादुर रावललाई जानकारी प्राप्त भएपछि निरीक्षक रावलको कमाण्डमा १० जनाको टोली तथा स्थानीयवासी मिलेर खोजी कार्य सुरु गरिएको थियो।

खोजी कार्यलाई तीव्र बनाउन अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट प्रहरी हवल्दारको कमाण्डमा थप ५ जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगु जिल्ला ले जनाएको छ। उक्त स्थान अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट करिब २ घण्टा ३० मिनेट पैदल दूरी पूर्वतर्फ पर्दछ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रबिराज थपलिया का अनुसार घटना लगत्तै स्थानीयवासी र प्रहरी संयुक्त रूपमा बेपत्ता बालबालिकाको खोजीमा जुटेका छन्। हालसम्म बालबालिका फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।