एम्बुलेन्स दुर्घटनामा परी २ जनाको मृत्यु, २ जना घाइते
जुम्ला : यहि चैत २५ गते साँझ करिब ८:१० बजे कालिकोट जिल्लाको खाडाचक्र नगरपालिका वडा नम्बर २ स्थित मेयरखोला नजिक एम्बुलेन्स दुर्घटना भएको छ।
जुम्लाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको क.प्र.०१००१झ००२४ नम्बरको हिमा गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स अचानक दुर्घटनामा परेर सडकबाट करिब २५ मिटर तल खसेको थियो।
दुर्घटनामा परेका एम्बुलेन्समा सवार ४ जनामध्ये २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
मृत्यु हुनेहरूमा जुम्ला जिल्ला हिमा गाउँपालिका वडा नम्बर ६ पातरखोला निवासी अन्दाजी ३२ वर्षीय भिमबहादुर अधिकारी र सोही एम्बुलेन्सका चालक हिमा गाउँपालिका वडा नम्बर ७ निवासी अन्दाजी २६ वर्षीय शक्तिबहादुर शाही रहेका छन्।
त्यस्तै, घाइते हुनेहरूमा पातरखोला निवासी अन्दाजी ६०/६५ वर्षीय कलबहादुर अधिकारी (खुट्टामा मध्यम चोट) र हिमा गाउँपालिका वडा नम्बर ७ मर्ची निवासी २० वर्षीय लोकेन्द्र शाही (कान र पेटमा सामान्य चोट) रहेका छन्।
घाइतेहरूको अवस्था सामान्य रहेको र थप उपचारको लागि पहल भइरहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








