मुगुमा जडिबुटीबाट उत्पादित तेल प्रति स्थानीयको आकर्षण बढ्दाे

 

मुगु:कर्णाली प्रदेशको जडिबुटीको भण्डारका रूपमा परिचित मुगु जिल्लामा पाइने विभिन्न जडिबुटीबाट उत्पादन गरिएको वातशामक तेलप्रति पछिल्लो समय स्थानीयको आकर्षण बढ्दै गएको छ।

यो तेलले शरीरका विभिन्न रोगहरू, विशेषगरी हाडजोर्नी, नसाको दुखाइ तथा छालासम्बन्धी समस्यामा राहत दिने देखिएपछि प्रयोगकर्ताहरूको विश्वास बढ्दो छ।

छायाँनाथ रारा नगरपालिका १३, रुगा गाउँका करिब ५५ वर्षीय धनलाल लावड लामो समयदेखि शरीरका विभिन्न जोर्नी, नसाहरू र छालामा हुने दुखाइबाट पीडित थिए। जिल्ला अस्पताल तथा निजी मेडिकलहरूमा लाखौं खर्च गर्दा पनि निको नभएपछि उनले आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले उत्पादन गरेको वातशामक तेल नियमित प्रयोग गरे। हाल उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उनले बताए।

त्यसैगरी, दान बहादुर शाही पनि शरीरका विभिन्न भागमा हुने नसाको दुखाइबाट पीडित थिए। उनले पनि आयुर्वेद स्वास्थ्य केन्द्रबाट उत्पादित तेल प्रयोग गरेपछि अहिले निकै सुधार आएको र सहज रूपमा हिँडडुल गर्न सक्ने भएको बताए।

आयुर्वेद स्वास्थ्य केन्द्र मुगुमा निःशुल्क फिजियोथेरापी, अकुपञ्चर, खकार तथा रगत परीक्षणसहित अन्य सेवाहरू उपलब्ध हुँदै आएका छन्, जसले सेवाग्राहीहरूलाई थप राहत दिएको छ।

पछिल्लो तीन वर्षदेखि मुगुमा पाइने सिस्नु, रस्ना, चरिअमिलो, बेडु, तितेपाती, चुत्रो, सल्ला, भाङ्गो, एन्ठ, धतुरो, काँपो लगायतका जडिबुटी प्रयोग गरी वातशामक तेल उत्पादन हुँदै आएको छ। यसमा क्वाथ, तिल, तोरी, तारपिन, मेन्थल, युकालिप्टस र कपुर पनि मिसाइन्छ।

उक्त तेलले ढाड, कम्मर, हाडजोर्नी तथा आमवातजस्ता समस्यामा राहत दिने विश्वास गरिएको छ। चालु आर्थिक वर्षमा २,०६० मिलिलिटर क्षमताका तेलका बोतल उत्पादन गरिएको छ, जसको प्रयोग अवधि उत्पादन मितिबाट दुई वर्षसम्म रहने बताइएको छ।

तेल बाहेक वासा चूर्ण, रस्ना चूर्ण र पाषाणभेद चूर्णजस्ता औषधिहरू पनि उत्पादन भइरहेको छ। तर बजेट अभावका कारण थप औषधि उत्पादन गर्न समस्या भएको निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी लक्ष्मीप्रसाद पाण्डेले जानकारी दिए।

मुगु लगायत कर्णाली प्रदेशमा पाइने जडिबुटीहरूको पहिचान गरी उद्योग सञ्चालन गर्न सके स्थानीय स्तरमै औषधि उपलब्ध गराउनुका साथै आम्दानी वृद्धि गर्न सकिने सम्भावना देखिएको छ। यसका लागि राज्यका तीनै तहका सरकारको ध्यान जान आवश्यक रहेको स्थानीयको भनाइ छ।