साढे ५ दशकपछि फेरियो पृथ्वीको ‘प्रोफाइल पिक्चर’ !

डा. विष्णुप्रसाद जोशी

२०२६ मा आर्टिमिस II यानले ले पृथ्वीको ‘प्रोफाइल पिक्चर’ अद्यावधिक गरेको छ ! हामीले देखी रहने चीर परिचित “निलो गुच्चा” (ब्लु मार्बल) नाम दिइएको तस्बिर अपोलो १७ ले १९७२ मा खिचेको थियो जसले हामीलाई पहिलो पटक हाम्रो साझा घर—यो धरा — अन्तरिक्ष बाट कस्तो देखिन्छ भन्ने देखायो । दशकौँसम्म हाम्रो पहिचान बनेर रहेको पृथ्वीको त्यो ‘प्रोफाइल पिक्चर’ लाई ‘हल्लो दुनियाँ’ भन्दै आर्टिमिस II यानले पृथ्वीको नयाँ तस्बिर अपडेट गरेको छ। मानौँ, उही पुरानो तस्बिर राखेर दिक्क भएको पृथ्वीले अन्ततः आफ्नो प्रोफाइल पिक्चर बदलेको छ!

फिल्टर बिनाको तस्बिर कसले हाल्छ र आजकाल ?

आर्टिमिस II ले पठाएको यो नयाँ तस्बिर पुरानो ‘नीलो गुच्चा’ भन्दा निकै जाज्वल्यमान छ। यसमा पृथ्वीको उत्तरी प्रकाश अर्थात् ‘अरोरा बोरियालिस’ (Aurora Borealis) को मनमोहक दृश्य र पछाडि अनन्त ब्रह्माण्डमा चम्किरहेका तारा पुञ्जहरूको अद्भुत ‘लाइट इफेक्ट’ दिएका छन् । सामाजिक सञ्जालको आजको युगमा आखिर फिल्टर नलाई आजकाल कसले तस्बिर हाल्छ र? पृथ्वीले पनि किन सादा तस्बिर राखोस् ?

पुरातन देव-दानवका मिथकहरू देखी मानवको अन्तरिक्ष यात्रासम्म

परापूर्व कालमा कोही पृथ्वी चेप्टो छ भन्ने विश्वास गर्थे त कोही सूर्य लगायत ताराहरू सहित विश्व ब्रह्माण्ड नै पृथ्वी वरिपरि घुम्छ ठान्थे । चन्द्रमा, सूर्य र अन्य ग्रहहरूलाई देवता मानेर पुजिन्थ्यो र तिनको चाल हेरेर मानिसहरू आफ्नो भाग्य निर्धारण हुन्छ ठान्थे । तर आज, त्यही पुरातन विचारधाराको पर्खाल भत्काउँदै मानिस आफैँ ती ग्रहहरूमा पुग्न सक्ने भएको छ ।

राहु-केतुको दशा देखी डराउने मानव आज चन्द्रमामा पाइला टेक्न सक्ने बनेको छ र कुनै दिन मङ्गल ग्रहमा समेत मानव बस्ती बसाल्ने सपना अब कल्पना मात्र रहेन । यसले के प्रमाणित गर्छ भने, वास्तवमा कुनै बाह्य दैवी शक्तिले हामीलाई चलाइरहेको छैन; साँचो दैविक शक्ति त मानिस आफैँ भित्र छ । हाम्रो मस्तिष्क, विवेक, सृजनशीलता, साहस र जिज्ञासा नै मानवको त्यो शक्ति हो जसले ब्रह्माण्डका अनेक रहस्यहरूमाथिको भ्रमको पर्दा चिरी रहेको छ । वास्तवमा दैविक शक्ति त मानिस आफैँ भित्र छ र चन्द्रमा, मंगल, बृहस्पति जस्ता ग्रह उपग्रह अब पूजा गर्ने वस्तु मात्र होइनन्, अध्ययन र अन्वेषण गर्ने गन्तव्य पनि बनेका छन् ।

वसुधैव कुटुम्बकम् को भावको टड्कारो

अन्तरिक्षबाट हेर्दा पृथ्वीको सतहमा न कुनै देश या दलको झण्डा देखिन्छ, न कुनै जाति, धर्मकै को आधारमा कोरिएका रेखाहरू नै। त्यहाँबाट पृथ्वी नीलो, सुन्दर, गोलाकार र जीवन्त घर देखिन्छ जहाँ हामी सबै सँगै मिलेर बस्छौँ । तर यही पृथ्वीमा हामी अझै पनि विभाजन, घृणा र वैरभावमा अल्झिएका छौँ। यो विरोधाभास अचम्मको छ—एकातिर हामी अन्तरिक्षमा पुगिरहेका छौँ, अर्कोतिर पृथ्वीमै एक-अर्कालाई सहन सकिरहेका छैनौँ । अब समय आएको छ—यो नयाँ “प्रोफाइल तस्बिर” बाट केही सिक्ने । जसरी पृथ्वीले ५४ वर्षपछि आफ्नो प्रोफाइल अपडेट गर्‍यो, हामीले पनि आफ्नो सोच अपडेट गर्नुपर्छ । विज्ञानले दिएको यो दृष्टिकोण—“One Planet, One Humanity”—हाम्रो व्यवहारमा पनि अब झल्किनुपर्छ ।

यो वैज्ञानिक विकासको विशाल फड्कोसँगै अब हामीले आफ्नो सोचको दायरा पनि फराकिलो बनाउनु नितान्त आवश्यक छ। अब हामीले एक अर्काप्रतिको घृणा, ईर्ष्या र वैरभाव त्यागेर एकजुट हुनुपर्छ । जलवायु परिवर्तन, गरिबी, र महामारी जस्ता वैश्विक समस्याहरू कुनै एउटा देशका मात्र होइनन् । यी चुनौतीहरूको सामना गर्न सम्पूर्ण मानव जातिले एकापसमा हातेमालो गर्नुको विकल्प छैन ।

आफ्नो सोचको प्रोफाइल तस्बिर बदल्न के हामी तयार छौँ ?

यो ब्रह्माण्डीय परिप्रेक्ष्यलाई हाम्रो आफ्नै देश, नेपालको सन्दर्भमा जोडेर हेर्ने हो भने पनि एउटा गहिरो सन्देश उभ्रीन्छ । विक्रम संवत् २०८२ को चुनावमा नेपाली राजनीतिले पनि एउटा यस्तै ‘प्रोफाइल पिक्चर’ बदल्ने आँट गरेको छ । दशकौँदेखि जरा गाडेर बसेका नेपाली काँग्रेस र नेकपा एमाले जस्ता पुराना दलहरूलाई जनताले अस्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ र वैकल्पिक शक्तिलाई जिताएका छन् । मानौँ नेपाली जनताले आफ्नो प्रोफाइल पिक्चर अद्यावधिक गर्नु सँगै स्ट्याटस पनि हाले !

यो परिवर्तनलाई अन्तरिक्षको त्यो तस्बिरसँग दाँजेर हेरौँ: अन्तरिक्षबाट धर्तीमा हेर्दा न कुनै रुख देखिन्छ, न त ब्रह्माण्ड केवल सूर्यको नै पेवा हो । हामीले वर्षौँदेखि राजनीतिको नाममा सूर्य र रुखलाई आँखा चिम्लेर पूजा गर्‍यौँ । अर्घ चढाउने सूर्यलाई समेत उपयोग गरी अहिले हामीले सोलार प्यानलबाट ऊर्जा निकाल्न सक्छौँ भनेर काम लगाउन थालेका छौँ । ताराहरूलाई भाग्यको रेखा मान्ने परम्परालाई वैज्ञानिक विचारधाराले प्रश्न गरेको छ ।

अब समय फेरिएको छ । अब हामीले रुख, सूर्य या तारालाई अन्धभक्त भएर पूजा गर्ने होइन, प्रश्न गर्ने बेला आएको छ। पुराना विचारधारा र नेतृत्वले देशलाई जहाँ पुर्‍याउनुपर्ने थियो, त्यहाँ पुर्‍याउन सकेनन् । जसरी विज्ञानले ‘ब्रह्माण्ड पृथ्वी वरिपरि घुम्छ’ भन्ने मिथकलाई तोड्यो त्यसै गरी नेपाली जनताले पनि ‘पुराना दल बिना देश चल्दैन’ भन्ने भ्रमलाई तोडेका छन् । देशभर परिवर्तनको घण्टी बजिसकेको छ ! यो घण्टीले सुतेकाहरूलाई ब्युँझाएको छ र नयाँ युगको सुरुवातको शंखघोष (घंटघोष?) गरेको छ ।

जसरी ५४ वर्षपछि आर्टिमिस २ को लेन्सबाट पृथ्वीले आफ्नो ‘प्रोफाइल तस्बिर’ बदलेर आफूलाई नयाँ, चम्किलो रूपमा प्रस्तुत गर्‍यो, हामीले पनि आफ्ना पुराना, सडे गलेका विचारहरूलाई बदल्नुपर्छ । ब्रह्माण्ड जति फराकिलो छ, हाम्रो सोच पनि त्यति नै विशाल हुनुपर्छ । आउनुहोस्, यो वैज्ञानिक र राजनीतिक परिवर्तनलाई आत्मसात् गरौँ । पृथ्वीले प्रोफाइल तस्बिर बदले झैँ, अब हामी पनि आफ्नो विचार र दृष्टिकोण बदलौँ !