जुम्लामा शान्तिपूर्ण निर्वाचन सम्पन्न :५७.४४ प्रतिशत मत खस्यो

जुम्ला : जुम्ला जिल्लामा सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्लामा कुल ५७.४४ प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जिल्लाभरका ११० वटा मतदान केन्द्रबाट प्राप्त विवरणअनुसार महिला २१ हजार १४६ जना र पुरुष २० हजार ६४ जना गरी जम्मा ४१ हजार २१० मत खसेको हो।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिपेन्द्र कँडेलका अनुसार सबै मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक प्रतिवेदनका आधारमा उक्त मत खसेको जानकारी दिइएको हो।

त्यस्तै, जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले जिल्लामा निर्वाचन शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचन प्रक्रियामा राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी तथा सर्वसाधारणको सहयोगका कारण मतदान कार्य व्यवस्थित रूपमा सम्पन्न भएको हो।

प्रमुख जिल्ला अधिकारी पौडेलले अहिले मतदान केन्द्रहरूबाट मुचुल्का उठाएर मतपेटिका सदरमुकामतर्फ ल्याउने कार्य भइरहेको जानकारी दिनुभयो।

जिल्लामा कुल ७१ हजार ७३९ जना मतदाता रहेकोमा ५७.४४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ