सोरु गाउँपालिकाका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको अभाव, पठन पाठन प्रभावित

मुगु :राज्यका तीनै तहका सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको दाबी गरिए पनि मुगु जिल्लाको सोरुगाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरू अझै पनि आधारभूत भौतिक पूर्वाधारको अभावमा पठन–पाठन सञ्चालन गर्न बाध्य छन्। पर्याप्त विद्यालय भवन, कक्षाकोठा, खेलमैदान तथा बसाइ व्यवस्थापनका लागि टेबल–बेञ्च नहुँदा विद्यार्थीहरू खुला चौरमा बसेर अध्ययन गर्नुपरेको छ, जसका कारण उनीहरूको पठन–पाठनसँगै स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ।

यो अवस्था सोरुगाउँपालिका–१०, धैनमा रहेको जगतमाला माध्यमिक विद्यालयको हो। वि.सं. २०३१ सालमा स्थापना भएको यो विद्यालय ५१ वर्ष पुरानो भइसकेको छ। शैक्षिक सत्र २०८२/०८३ मा यस विद्यालयमा २३२ छात्रा र २२२ छात्र गरी जम्मा ४५४ जना विद्यार्थी अध्ययनरत छन्।

विद्यालयमा हाल सञ्चालनमा रहेका भवनहरू काठ, माटो र ढुंगाबाट बनेका पुराना तथा जिर्ण अवस्थामा छन्। पर्याप्त भवन र कक्षाकोठाको अभावमा कक्षाकोठामा टेबल–बेञ्च नहुँदा विद्यार्थीहरू भुइँमै बसेर पढ्न बाध्य छन्। कतिपय अवस्थामा दुई–तीन कक्षाका विद्यार्थीहरू एउटै कोठामा राख्नुपरेको छ भने कहिलेकाहीँ खुला आकाशमुनि चौरमै कक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ। हावा–हुरी चल्दा र मौसम प्रतिकूल हुँदा पठन–पाठनमा थप समस्या हुने गरेको छ।

खुला चौरमा कक्षा सञ्चालन गर्दा एक कक्षाको आवाज अर्को कक्षामा पुग्ने, हल्ला हुने तथा विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो जस्ता स्वास्थ्य समस्या देखिने गरेको जगतमाला मावि कक्षा ८ का विद्यार्थी हिक्मत जैसीले बताए। उनका अनुसार यसले पढाइमा गम्भीर असर पारेको छ।

विद्यालयका निमित्त प्रधानाध्यापक लोकबहादुर रानाका अनुसार विद्यालय पुरानो भए पनि भौतिक पूर्वाधार, कक्षाकोठा र बसाइ व्यवस्थापनमा ठूलो समस्या छ। हाल सुख्खा मौसम भएकाले चौर वा भवनको छतमा विद्यार्थी राखेर पठन–पाठन सञ्चालन गरिएको छ। तर वर्षा तथा अत्यधिक गर्मीको समयमा कक्षा सञ्चालन गर्न निकै कठिन हुने गरेको छ। विद्यालयका यी समस्याबारे सरोकारवाला निकायहरूमा निरन्तर गुनासो तथा अनुरोध पत्राचार भइरहेको उनले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले विगतमा पक्की भवन नहुँदा जिर्ण भवनमै पठन–पाठन हुँदै आएको स्मरण गर्दै आफ्नो कार्यकालमा केही सुधार भएको बताए। उनका अनुसार सोरुगाउँपालिकाको सहयोगमा दुई तला, चार कोठे नयाँ भवन निर्माणाधीन अवस्थामा छ। साथै, प्रदेश सरकारबाट अर्को भवनका लागि बजेट प्राप्त भएको र विद्यालय घेराबारको व्यवस्था पनि हुँदै आएको छ। विगतको तुलनामा भौतिक पूर्वाधार तथा शिक्षा क्षेत्रमा सुधार भइरहेको उनले दाबी गरे।

सोरुगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंगराज डाँगीले सामुदायिक विद्यालयमा देखिएको पूर्वाधार अभावलाई ध्यानमा राख्दै पालिकाभित्रका चार विद्यालयमा प्राविधिक इस्टिमेटअनुसार दुई तला, चार कोठे भवन निर्माण भइरहेको जानकारी दिए। यसअन्तर्गत जगतमाला माध्यमिक विद्यालयमा पनि नयाँ भवन निर्माण भइरहेको उनले बताए। समुदायका विद्यालयको माग र आवश्यकताका आधारमा भौतिक निर्माणका काम अगाडि बढाइएको उनको भनाइ छ।

सोरुगाउँपालिकामा रहेका करिब ९५ प्रतिशत सामुदायिक विद्यालयको अवस्था उस्तै रहेको भन्दै भौतिक पूर्वाधार, विद्यार्थी बसाइ व्यवस्थापन तथा शैक्षिक सामग्रीको अभाव गम्भीर समस्याका रूपमा देखिएको छ। शिक्षा क्षेत्रको गुणस्तर उकास्न स्थानीय सरकार, राज्यका अन्य निकाय तथा शिक्षा क्षेत्रमा कार्यरत संघ–संस्थाहरूले विद्यालयको भौतिक पूर्वाधार विकासमा थप ध्यान दिन आवश्यक देखिन्छ।

 

सम्बन्धित समाचार