जिल्ला अदालत जुम्लाकाे सेवा सुधार :अभिलेख व्यवस्थापनदेखि पूर्वाधार विकास सम्म उल्लेखनीय प्रगति

जुम्ला: पछिल्ला महिनाहरूमा जिल्ला अदालत जुम्लाले आफ्नाे सेवा प्रवाहलाई छिटाे छरितो, आधुनिक र नागरिकमैत्री बनाउन उल्लेखनीय कार्यहरुकाे सुरुवात गरेको छ।अभिलेख व्यवस्थापन प्रणालीको सुदृढीकरण, पूर्वाधार विकास र प्रशासनिक सुधारले न्याय सेवा गुणस्तरमा नयाँ उचाइ थपेको छ।
त्यस्तै अभिलेख शाखा प्रमुख महेश राेकाया अनुसार अदालतमा फैसलापछि सुरक्षित रूपमा राखिने मिसिल तथा अन्य अभिलेख अब पूर्ण रूपमा व्यवस्थित मोडेलमा रूपान्तरण गरिएको हाे। नागरिकका लागि महत्वपूर्ण मानिने अभिलेख अब ‘दुई मिनेटमै’ खोजी गर्न सकिने प्रणाली लागू हुँदा सेवाग्राहीको समय बचत हुनुका साथै सेवा प्रवाह झनै सहज बनेको छ। मुद्दा नम्बर, नाम वा फैसला विवरण राखेर तत्काल खोजी गर्न सकिने व्यवस्था भएपछि सेवाग्राही निकै सन्तुष्ट रहेकाे बताए।
त्यस्तै निमित्त श्रेस्तेदार हरिकृष्ण तिमिल्सिनाले मिसिल सुरक्षा सम्बन्धी,चिन्ताहरू समेत अब हटेका छन्।“कुन मिसिल कुन काटुनमा छ भन्ने सूचना प्रणालीमार्फत तुरुन्तै थाहा पाइने ब्यवस्था मिलाईएकाे छ।

यसअघि यस्तो थिएन ।यसले अभिलेख हराउने, बिग्रने वा अव्यवस्थित हुने सम्भावना पूर्ण रूपमा अन्त्य गरेको उनले बताए।उनका अनुसार,सेवाग्राहीमैत्री वातावरण निर्माणका लागि अदालतले भौतिक पूर्वाधारमा पनि महत्वपूर्ण सुधार गरेको छ। शुद्ध खानेपानी, तातो–चिसो पानी, प्रत्येक कोठामा तातो हीटर, आवश्यक फर्निचर, थ्री–फेज विद्युत् लाइन जडान, सेवाग्राही प्रतीक्षालय तथा बाल–इजलास लगायतका सुविधा थप भएका छन ।सेवाग्राहीकाे मनाेवल उच्च पार्ने वातावरण बनेकाे छ।

केही खर्च अदालतको आन्तरिक स्रोतबाट तथा केही स्थानीय तहको सहयोगमा गरिएको छ।त्यस्तै यि सुधारहरूले कर्मचारीको कार्यसम्पादन क्षमतामा समेत उल्लेखनीय वृद्धि भएको कर्मचारीहरू बताउँछन्। ढिलासुस्ती घट्दै जाँदा सेवा छिटो र प्रभावकारी बनेको छ भने सेवाग्राहीले पनि पहिलाभन्दा छिटाे छरितो रूपमा न्यायसम्बन्धी सेवा पाउँदै आएका छन्।
कर्मचारीका अनुसार माननीय न्यायाधीश आनन्दराज पन्त ज्युले जिल्ला अदालत जुम्लाकाे जिम्मेवारी समाल्ले पछि   प्रशासनिक सुधार, प्रभावकारी नेतृत्व र सेवा प्रवाहमा पारदर्शिता अभिवृद्धि हुँदै गएको हाे। अदालतको समग्र क्रियाकलापमा आएको अनुशासन, उत्तरदायित्व र आधुनिक व्यवस्थापनले जिल्ला अदालत जुम्लालाई पछिल्लाे केही समय यता नमूना अदालतका रूपमा उभ्याइरहेको छ।

सुधारित मिसिल व्यवस्थापन, सुगम सेवा प्रवाह, पूर्वाधार सुदृढीकरण तथा दिगो न्याय सेवा निर्माणतर्फको निरन्तर प्रयासले स्थानीय तहमै विश्वासिलो, सहज र द्रुत न्याय सेवा उपलब्ध गराउने वातावरण स्पष्ट रूपमा बनेको देखिन्छ। जिल्लावासीका लागि न्याय पहुँचलाई अझ नजिक र प्रभावकारी बनाउने लक्ष्यका साथ जिल्ला अदालत जुम्लाले यस्ता महत्त्वपूर्ण कदमकाे थालनी गरेकाे  देखिन्छ  ।