जुम्लामा नेपाली कम्युनिष्ट पाटीको एकता भेला सम्पन्न, १४ जना अन्य दलबाट प्रवेश
जुम्ला: जुम्लामा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित जिल्ला एकता सन्देश भेला शुक्रबार सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ११ दलको समायोजनमा बनेको नेपाली कम्युनिष्ट पार्टीको जुम्लास्थित संरचनाले अगुवा नेता तथा कार्यकर्ताहरूको व्यापक सहभागितामा भेला सम्पन्न गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय आयोजक समिति सदस्य नरेश भण्डारीले देश गम्भीर राजनीतिक सङ्कटतर्फ अघि बढिरहेको अवस्थामा जनपक्षीय स्थिरता कायम गर्न र दीर्घकालीन कम्युनिष्ट केन्द्र निर्माण गर्न एकता गरिएको बताउनुभयो। उहाँका अनुसार यो एकता “सिमित व्यक्तिको व्यवस्थापनका लागि होइन, इतिहासका टुटफुटबाट सिकेर ठूलो कम्युनिष्ट शक्ति निर्माण गर्ने दिशामा उठाइएको महत्वपूर्ण कदम” हो।
भण्डारीले समृद्धि, सुशासन र सामाजिक न्यायका एजेन्डाहरू नेपाली कम्युनिष्ट पार्टीकै नेतृत्वमा सफलतापूर्वक कार्यान्वयन गर्न सकिने दाबी गर्दै एकतालाई गाउँ–गाउँसम्म पुर्याउन जुम्ला संगठनले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारले निर्वाचन तयारी तीव्र बनाएको भए पनि समयमै निर्वाचन हुन नसके “देश सैनिक शासनतर्फ धकेलिन सक्ने” चेतावनी पनि दिनुभयो।
नेता भण्डारीले जुम्लामा कम्युनिस्ट नेतृत्वले अस्पताल, खानेपानी, विद्युत् लगायतका आधारभूत पूर्वाधार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो। प्रचण्ड नेतृत्वको गणतन्त्रले महिला, दलित तथा पछाडि पारिएका वर्गलाई अधिकार दिलाउने ऐतिहासिक कार्य गरेको उहाँको भनाइ थियो।
त्यसैगरी, केन्द्रीय सदस्य पदमबहादुर रोकायाले जुम्लाको इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट शक्ति निर्माण हुँदै गएकोमा खुसी व्यक्त गर्दै बाम गठबन्धनका समयमा प्राप्त सहयोग नबिर्सिने बताउनुभयो। रोकायाका अनुसार अन्तर्मनबाट एकताको भावना बुझ्न सके जुम्ला मात्र होइन, कर्णाली प्रदेशभर नै नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्न सक्षम छ। उहाँले प्रचण्ड र माधव नेपालको दीर्घकालीन भिजन पनि कम्युनिष्ट एकतामै केन्द्रित रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, केन्द्रीय सदस्य गोमा गौतम कुँवरले भावनात्मक तथा संगठनात्मक रूपमै सुदृढ एकता अपरिहार्य रहेको बताउँदै आगामी निर्वाचनमा “एउटै मतदर्शनको विकल्प नरहेको” बताउनुभयो। उहाँसहित अधिकांश वक्ताहरूले समाजवाद स्थापना गर्ने लक्ष्य प्राप्तिका लागि सबै कम्युनिष्ट शक्ति एकबद्ध हुनुपर्नेमा जोड दिए।
१४ जना अन्य दलका कार्यकर्ताको पार्टी प्रवेश
कार्यक्रमकै अवसरमा पातारासी गाउँपालिका–२ र ३ का १ जना एमाले तथा १३ जना नेपाली काँग्रेसका कार्यकर्ता गरी कुल १४ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। नवीन प्रवेशलाई नेताहरूले स्वागत गर्दै यसले जिल्लामा एकताको सन्देश थप मजबुत बनाएको टिप्पणी गरेका छन्।










