सिंजाका एक हजारभन्दा बढी घरधुरीमा खानेपानी पुग्यो

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका एक हजार ६४ घरधुरीमा खानेपानी सेवा पुगेको छ। गाउँपालिका र साझेदार संस्थाको सहकार्यमा गाउँपालिकाले घरघरमा धारा पुर्‍याएको हो।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार संघीय सरकारले गाउँपालिकालाई प्रदान गरेको अनुदान तथा फिनल्याण्ड सरकार र युरोपियन युनियनको संयुक्त सहयोगबाट घरघरमा खानेपानीका धारा जडान गरिएका हुन्।

गाउँपालिका खापासटे गजेन्द्रबहादुर महतका अनुसार गाउँपालिकाको आर्थिक सहयोगबाट विभिन्न खानेपानी आयोजना सञ्चालन भएका छन्। वडा नम्बर १ को डिग्रा जाँच खानेपानी आयोजनाअन्तर्गत २१४ धारा, बिष्टवाडा खानेपानी आयोजनाबाट ८५ धारा र नराकोट गाउँ खानेपानी आयोजनाअन्तर्गत १५२ धारा निर्माण भएका छन्।

त्यसैगरी गाउँपालिका र लापा परियोजनाको सहकार्यमा फुंग्र गाउँमा ११९ खानेपानीका धारा निर्माण भएका छन् भने कर्णाली प्रदेश सरकारको सहयोगमा गाडाँपानी गाउँमा ५८ धारा पुर्‍याइएको छ।

उहाँका अनुसार, सिंजा गाउँपालिकामा सुस्वा परियोजनाअन्तर्गत गाउँपालिका, फिनल्याण्ड सरकार र युरोपियन युनियनको संयुक्त सहयोगमा ४३६ धारा निर्माण भएका छन्। तीमध्ये वडा नम्बर ३ को धिताललिही गाउँमा ६४, फार्सेवाडा गाउँमा १३०, वडा नम्बर ५ को गोरा गाउँमा १८८, र रुघाँ गाउँमा ५४ धारा निर्माण भएका हुन्।

गाउँपालिकाका अनुसार यस आर्थिक वर्षमा थप खानेपानी आयोजना निर्माणको काम पनि अघि बढाइएको छ। वडा नम्बर ६ को जोडुगाउँमा ११०, वडा नम्बर २ को चुलेलगाउँमा ८८, वडा नम्बर १ को धापामा २७ र भुली गाउँमा २२ खानेपानीका धारा निर्माण हुने भएका छन्।

गाउँपालिका अध्यक्ष धितालका अनुसार नराकोटसहितका बस्तीहरूमा खानेपानीको अभाव रहेकाले नागरिकको मागअनुसार यस क्षेत्रमा खानेपानी परियोजनालाई उच्च प्राथमिकता दिइएको हो।

खानेपानीमा उत्कृष्ट गाउँपालिका

सिंजा गाउँपालिकाले खानेपानीको क्षेत्रमा उत्कृष्टता हासिल गरेको छ। सुस्वा परियोजनाले गरेको मूल्याङ्कनमा कर्णाली प्रदेशका २८ स्थानीय तहमध्ये सिंजा गाउँपालिका प्रथम स्थानमा परेको हो।

यो सफलता हासिल गर्न गाउँपालिकाले कुल बजेटको २६ प्रतिशत हिस्सा खानेपानी क्षेत्रमा लगानी गरेको, पारदर्शिता अपनाएको र विवादित आयोजना तथा समस्या समाधानमा सक्रिय पहल गरेको बताइएको छ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित घोषणा कार्यक्रममा उक्त उपलब्धिको घोषणा गरिएको थियो।

दिगो खानेपानी र सरसफाइ अभियान

सवैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना सञ्चालनमा रहेको परियोजना संयोजक मञ्जु थापाले जानकारी दिइन्। उहाँका अनुसार गाउँपालिकासँग सहकार्य गरेर आगामी दिनमा पनि निरन्तर काम गरिनेछ।

त्यसैगरी स्थानीय बासिन्दा दत्तबहादुर बुढाले नराकोट क्षेत्रमा लामो समयदेखि रहेको खानेपानी अभाव अन्त्य गरेको भन्दै गाउँपालिकालाई धन्यवाद दिएका छन्।