दलका नेताले सोधे– हामीसँग संवाद गर्न किन ढिलाइ ? प्रधानमन्त्रीले भनिन्– जेन–जीले रुचाएका थिएनन्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी छन् । दलका नेताहरूसँगको छलफलमा उनले चुनावका लागि अहोरात्र खटिएर सरकारका मन्त्री, सुरक्षा निकायलगायतले काम गरिरहेका बताइन् ।
दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उनले भनिन्, ‘यस बीचमा घाइतेहरूको उपचार, शहीदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो । त्यसमा समय लाग्यो ।’
उनले सुरुवाती चरणमा जेन–जी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको पनि बताइन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संवादको ढोका खोलिदिने काम भएको उनले बताइन् ।
ुअब जेन–जी र दलहरू बसौँु, प्रधानमन्त्रीले भनिन्, ‘जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ । चुनाव सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ ।’
योसँगै दलका नेता र प्रधानमन्त्रीको संवाद सकिएको छ । बैठक सकेर दलका नेताहरू बालुवाटारबाट निस्केका छन् ।








