हिमा गाउँपालिकामा पारदर्शिता र जवाफदेहिताको माग गर्दै सचेत युवाहरूको अल्टिमेटम

जुम्ला : हिमा गाउँपालिकाका सचेत युवाहरूले गाउँपालिकामा देखिएको अनियमितता, बेवास्ता र उत्तरदायित्वहीनता विरुद्ध आवाज उठाउँदै पुनः तीन दिनको अल्टिमेटम जारी गरेका छन्।

भदौ ३१ गते नै यस विषयमा औपचारिक विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको भए पनि, हालसम्म कुनै ठोस पहल वा निर्णय नआएकोप्रति उनीहरूले गम्भीर असन्तुष्टि जनाएका छन्।

“हामीले न्याय, पारदर्शिता र उत्तरदायित्वका लागि आवाज उठाइरहेका छौं। तर, अहिलेसम्म कुनै प्रतिक्रिया नआएपछि बाध्य भएर पुनः तीन दिनको समयसीमा दिएका हौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

युवाहरूले सार्वजनिक रूपमा चेतावनी दिँदै भनेका छन् कि यदि उक्त समयसीमा भित्र छानबिन समिति गठन गरी मागहरू सम्बोधन नभएमा, उनीहरू शान्तिपूर्ण तर निर्णायक आन्दोलनमा उत्रन बाध्य हुनेछन्।

विज्ञप्तिमा स्पष्ट गरिएको छ कि आन्दोलनका क्रममा हुने सम्पूर्ण क्षति, बाधा तथा क्षतिपूर्तिको जिम्मेवारी गाउँपालिका सरकारले नै लिनुपर्नेछ।

“पारदर्शिता र जवाबदेहिता विकल्प होइन, जनता र सरकारको साझा जिम्मेवारी हो,” भन्दै युवाहरूले जनताको आवाज बेवास्ता नगर्न चेतावनी दिएका छन्।

सचेत हिमा! जय हिमा! जय नेपाल! नारासहित जारी विज्ञप्तिमा स्थानीय सरकारलाई समयमै गम्भीर कदम चाल्न आग्रह गरिएको छ।