डिकेश नाथ योगीको निधनले जुम्लाको स्वास्थ्य प्रणाली माथि उठेका गम्भीर प्रश्नहरू


जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचाररत डिकेश नाथ योगीको शनिबार दुखद निधन भएको छ। योगीको मृत्युले न केवल एक युवाको जीवन अन्त्य ग¥यो, तर एक आमाको छोरामाथिको भरोसा, एक परिवारको सपना र समाजको भविष्यमाथि गम्भीर प्रश्नचिन्ह खडा गरिदिएको छ।
एसईई परीक्षा दिइरहेका डिकेश गम्भीर विरामी परेपछि जेठ २५ गते प्रतिष्ठानमा भर्ना गरिएका थिए। परिवारका अनुसार, उपचारको क्रममा डाक्टरको लापरबाहीका कारण उनको ज्यान गएको हो। डिकेशको मृत्युले सम्पूर्ण जुम्ला जिल्लालाई स्तब्ध बनाएको छ।
लापरबाहीको आरोप र व्यवस्थापनको चरम कमजोरी
पीडित परिवारले उपचारमा गम्भीर लापरबाही भएको आरोप लगाएका छन्। उनीहरूले दाबी गरेका छन् कि प्रतिष्ठानमा राजनीतिक नियुक्ति र कार्यकर्ता प्रवृत्तिका कारण गुणस्तरीय सेवाको अभाव छ। भिसी, रजिष्ट्रारदेखि डाक्टर तथा अन्य कर्मचारीहरू राजनीतिक भागबण्डाका आधारमा नियुक्त हुने चलनले संस्थाको कार्यसम्पादन माथि गम्भीर असर परेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरिएको छ।यो घटना कुनै एक व्यक्तिको मात्र त्रासदी होइन यो सम्पूर्ण स्वास्थ्य प्रणालीको कमजोर संरचना र जवाफदेहीहीनताको ऐना हो।
छानबिन समिति गठन, निष्कर्ष र प्रतिवेदनको पर्खाइ
डिकेशको मृत्युपछि शनिबार नै विभिन्न दलका नेता, जनप्रतिनिधि, स्थानीय समाजसेवी र योगी परिवारका सदस्यहरूको उपस्थितिमा गम्भीर छलफल गरिएको थियो। छलफलपश्चात जिल्ला स्तरिय छानबिन समिति गठन गरिएको छ।
छानबिन समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य रहेका छन् भने सदस्यहरूमा बद्रिनाथ योगी, रतननाथ योगी, विष्णुबहादुर महत, मीन बहादुर रावल लगायतका सात जना छन्। समितिले अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समग्र उपचार व्यवस्थापन, कर्मचारी भर्ना प्रक्रिया, र योगीको मृत्युमा देखिएको लापरबाहीबारे अध्ययन–विश्लेषण गरेर प्रतिवेदन तयार पार्नेछ।
पिडित परिवारका लागि राहतको प्रतिबद्धता
छलफलमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेकपा एमालेका रतन नाथ योगी, माओवादी केन्द्रका विष्णु बहादुर महत, स्थानीय जनप्रतिनिधि, चिकित्सकहरू, र योगी परिवारका आफन्तहरूको उपस्थिति रहेको थियो।छलफलबाट तीन दिनभित्र पिडित परिवारलाई राहत उपलब्ध गराउने, दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने र संस्थाको कार्यशैलीमा सुधार ल्याउने प्रतिबद्धता जनाइएको छ।

“डाक्टर भगवान हुन भन्ने भनाइ जति नै प्रिय होस्, जब लापरबाहीले जीवन लिन्छ, त्यो भनाइ प्रश्नमा पर्छ। डिकेश नाथ योगीको निधनले नेपाली ग्रामीण स्वास्थ्य प्रणालीमा रहेको संरचनात्मक कमजोरी, राजनीति–प्रेरित नियुक्ति, र जवाफदेहीहीनताको वास्तविकता उजागर गरेको छ।यदि छानबिन समिति निष्पक्ष रूपमा काम गर्छ भने, डिकेशको मृत्युलाई एउटा परिवर्तनको थालनी बनाउन सकिन्छ। नत्र, यसरी नै डिकेशहरू मर्ने छन्, परिवारहरू रोइरहने छन्, र संस्थाहरू राजनीतिक भागबण्डाको घेरामा अल्झिरहने छन्।

 

सम्बन्धित समाचार