डोरीको साहेताले निर्माण गरिएको भण्डारी–बुगार–झारखेत सिँचाइ कुलोका श्रमिकको ताम्रपत्र मार्फत सम्मान (फोटो फिचर )


जुम्ला :तिला गाउँपालिका–४ मा सामूहिक श्रमदानमार्फत निर्माण गरिएको भण्डारी–बुगार–झारखेत सिँचाइ कुलोमा योगदान पु¥याउने श्रमिकहरूलाई पालिकाले विशेष सम्मान गरेको छ।“श्रम–प्रतिको सम्मान, कदयोग्य योगदान” भन्ने मूल नारासहित मंगलबार आयोजित कार्यक्रममा ५२ जना श्रमिकको नाम समेटिएको ताम्रपत्रको सार्वजनिक अनावरण गरियो। कार्यक्रममा श्रमिकहरूलाई टोपी लगाएर सम्मान गरिएको थियो। हालका स्रोत–साधन र सरकारी बजेटमा निर्माण गरिने सिँचाइ कुलोभन्दा यो कुलो फरक रहेकोले यसको ऐतिहासिक महत्वलाई लेखबद्ध गर्नुपरेको पालिकाले जनाएको छ।


त्यस्तै कार्यक्रममा उपाध्यक्ष गोरीकला बुढाले ताम्रपत्र अनावरण तिला गाउँपालिका तथा गाउँ कार्यपालिकाको कार्यालयको आयोजनामा सम्पन्न भएको जानकारी दिइन्। उनले समुदायमा श्रम र सहभागिताको महत्त्व औँल्याउँदै, पालिकाले ऐतिहासिक योगदान दिने श्रमिकहरूको नाम अभिलेखिकरण गरेर उनीहरूको श्रमको कदर गरेको बताइन्। “छ वटा भन्दा बढी ज्युलामा सिँचाइ पु¥याउने यो कुलो निर्माणमा श्रमिकहरूले देखाएको त्याग र समर्पणलाई पालिकाले सधैं सम्मान गर्नेछ,” उपाध्यक्ष बुढाले भनिन्।

त्यस्तै पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जानकी हितानले पनि कार्यक्रममा बोल्दै श्रमिकहरूको अधिकार संरक्षण, पहिचान र इतिहास सुरक्षित राख्न ताम्रपत्रमार्फत नाम अभिलेखिकरण गरिएको जानकारी दिइन्। “श्रमिकहरू हाम्रो समाजको मेरुदण्ड हुन्,”उनले भनिन्, “अब पालिकाले उनीहरूको तथ्याङ्क व्यवस्थित गरी आवश्यक सेवा–सुविधा पु¥याउन सहज हुने छ।”उनले पुरानो पुस्ताबाट अहिलेका युवाहरूले श्रमको मूल्य सिक्नुपर्ने आवश्यकता पनि औँल्याइन्। “आजका युवाहरू विदेश जान तयार हुन्छन्, तर आफ्नो गाउँमा श्रम गर्न चाहँदैनन्,” उनले भनिन्।


त्यस्तै कुलो निर्माणका मूल नेतृत्वकर्ता तथा तिला–४ साँपुल्ली निवासी बीरबहादुर सिंहले वर्षौँदेखिको स्थानीय माग पूरा भएकोमा खुसी व्यक्त गरे। “हामीले धेरै अगाडिदेखि यो सपना देखिरहेका थियौं, आज मूर्तरूपमा देख्न पाएका छौं,” उनले भने, “अब श्रमिकले आफ्नो पहिचानसहित अधिकार सुनिश्चित गर्न सक्नेछन् भन्ने विश्वास जागेको छ।”उनका अनुसार करिब एक दशकअघि चट्टानी भूभागका कारण अधुरो बनेको कुलो हाल पुनः पूर्णरूपमा निर्माण गरी सञ्चालनमा ल्याइएको हो। यस कुलोमा योगदान दिने ५२ जना श्रमिकको नाम ताम्रपत्रमा अभिलेख गरिएको छ भने केही छुटेका जग्गाधनीहरूको नाम पनि समावेश गरिनेछ।
त्यस्तै तिला–४ की ७९ वर्षीया मोति हमालका अनुसार झारखेत सिँचाइ कुलोको प्रारम्भिक प्रयास आजभन्दा करिब ३५ वर्षअघि भएको थियो। “त्यतिबेला अहिले जस्तो सजिलो थिएन,” उनले भनिन्, “घरबाट भुटेका भट्ट बोकेर आउँथ्यौं, कतिले त भटेउला नामक जरीबुटी खाएर पनि काम गर्थे।”

उनका अनुसार तत्कालीन अवस्थामा प्राचीन प्रविधि प्रयोग गरी ढुङ्गाले ढुङ्गा फोरेर कुलो निर्माण गरिएको थियो। अष्टकन्या चौलागाईं, माग्लि शाही, रामा चौलागाईं लगायत महिलाहरूले प्रारम्भिक चरणमै कुलोमा पानी झार्ने कार्यमा सहभागिता जनाएका थिए। ज्येष्ठ नागरिकहरूका अनुसार कुलो निर्माणका क्रममा स्थानीयहरूले काठका लठ्ठी, डोरी र साहेता प्रयोग गरी चट्टान फोरेका थिए। तीमध्ये धेरै श्रमिकहरू अहिले दिवंगत भइसकेका छन्, तर उनीहरूको योगदान ताम्रपत्रमार्फत दस्तावेज गरिएको छ।

महिलाले गरेको श्रम पुरुषसरह मानिदैन
केही महिलाहरूले यो कुलो निर्माणलाई प्रेरणादायी ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्। तर उनीहरू यसमा आफ्नै नाम समावेश नभएको प्रति दुःखी छन्। ती महिलाहरू भन्छन्, “हामी पनि त्यही चट्टान फोर्ने काममा गएका थियौं, हाम्रै काँधमा ढुङ्गा बोकेका थियौं, तर ताम्रपत्रमा हाम्रो नाम छैन।” उनीहरूले भने, धेरैजना महिलाले दशकौँअघि पुरुषसरह श्रम गरे पनि अहिले प्रकाशित ताम्रपत्रमा उनीहरूकै श्रीमान् र ससुराको नाम मात्र समावेश गरिएको छ,जसमा कतिपय अब यो संसारमै छैनन्। उनीहरूको गुनासो छ“हामी श्रम गर्न आएका थियौं, हाम्रो पसिना यस कुलोमा पनि छ। तर किन हाम्रो नाम ताम्रपत्रमा छैन? इतिहासमा फेरि हामी ओझेलमा प¥यौं।“ यो गुनासोले महिलाको श्रमको पहिचान र प्रतिनिधित्वको प्रश्न उठाएको छ।

पालिकाले भविष्यमा नाम समावेशीकरणका सन्दर्भमा पुनर्विचार गर्ने कि नगर्ने भन्ने कुराले अब थप बहस र छलफल गर्न आबश्यक छ । जसले महिला श्रमिकको योगदान र पहिचानको सवालमा गहिरो प्रश्न उठाउन सकोस् ।कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवा, श्रमिक प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ताम्रा पत्रको अभिलेख अनुसार २०५३ देखि २०६३ सम्म उक्त गाउका नागरिक सिंचाइ कुलो निमार्णमा नियमित श्रम गरेको देखिन्छ ।