मुगुका ग्रामीण बस्तीमा सुत्केरीको बचाउँदै अनमी सरिता शाही

मुगु : हिमाली जिल्ला मुगुको सोरु गाउँपालिकास्थित कालैमा रहेको बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिता कुमारी शाही यतिबेला स्थानीय महिलाहरूका लागि आशाको केन्द्र बनेकी छन्।

भौगोलिक रूपमा विकट र यातायातको सहज पहुँच नभएको क्षेत्रमा सरिताले लामो समयदेखि आमा र नवजात शिशुको ज्यान बचाउन महत्वपूर्ण योगदान दिँदै आएकी छन्। उनको समर्पण र सेवाभावका कारण उनी गाउँलेहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरन्डेक) र ब्याक टु लाइफको आर्थिक सहयोगमा निर्माण गरिएको जिमा–सिप गाउँको बर्थिङ सेन्टरमा करिब ६ वर्षसम्म कार्यरत रहँदै उनले गर्भवती तथा सुत्केरी आमाहरूलाई निरन्तर सेवा प्रदान गरिन्। दुर्गम क्षेत्रमा भरपर्दो प्रसूति सेवाको अभावका कारण जोखिममा परेका महिलाहरूका लागि उनको सेवा जीवनरक्षक सावित भएको छ।

साधन–स्रोत र जनशक्तिको अभावका बाबजुद पनि उनले सुरक्षित प्रसूति सेवा प्रदान गर्न दिनरात खटिँदै आएकी छन्। गाउँलेहरूका अनुसार उनले जागिरभन्दा बढी मानव सेवामा ध्यान दिएकी छन्।

सिप गाउँकी वडासदस्य गोबिन्दा बिष्ट भन्छिन्, “सरिता म्याडम हाम्री लागि भगवानजस्तै हुनुहुन्छ। उहाँले यहाँका गर्भवती आमा–दिदीबहिनीलाई धेरै सेवा दिनुभएको छ। उहाँकै कारण अहिले हामी सुरक्षित महसुस गर्छौं।”

पहिले सुत्केरीका क्रममा ज्यान जाने घटना सामान्यजस्तै भए पनि अहिले सरिताको सक्रियताले आमा र शिशुको ज्यान सुरक्षित हुन थालेको स्थानीयहरूको भनाइ छ। सीमित स्वास्थ्य उपकरण र जनशक्तिको अभावका बीच पनि उनले जटिल अवस्थाका सुत्केरीहरू सफलतापूर्वक गराएकी छन्।

६ वर्षको अवधिमा उनले जिमा सिप बर्थिङ सेन्टरमा ४६९ जना महिलालाई सुरक्षित सुत्केरी गराएकी छन् भने १,२०० भन्दा बढी गर्भवती महिलाको स्वास्थ्य परीक्षण गरेकी छन्। साथै, करिब ६०० जना सुत्केरी महिलालाई चारपटकसम्म पछिल्लो स्वास्थ्य जाँच (पोस्टनाटल केयर) सेवा प्रदान गरेकी छन्।

केन्द्रमा आउने महिलामात्र होइन, उनी दुर्गम गाउँबस्तीमै पुगेर सुरक्षित प्रसूति सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै आएकी छन्। घरमै सुत्केरी हुँदा हुने जोखिमबारे जानकारी दिँदै प्रसूति केन्द्रमै सेवा लिन प्रोत्साहित गरेकी छन्। साथै विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई पनि स्वास्थ्य शिक्षा प्रदान गरेकी छन्।

पहिले प्रसूति केन्द्र नहुँदा महिलाहरूलाई घरमै असुरक्षित रूपमा सुत्केरी हुनुपर्ने वा एक दिन टाढाको जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता थियो। अहिले भने गाउँमै सेवा उपलब्ध भएपछि महिलाहरूलाई ठूलो राहत पुगेको छ।

स्थानीय डबल बिष्ट भन्छन्, “सरिता म्याडम आएपछि गर्भवती महिलालाई धेरै सहज भएको छ। आमा र बच्चाको ज्यान बचेको छ।”

हाल उनलाई गत कार्तिक महिनादेखि कालै बर्थिङ सेन्टरमा खटाइएको छ। उनले त्यहाँ आएपछि हालसम्म १० जना महिलाको सुरक्षित सुत्केरी गराइसकेकी छन्। कालै, खनाया र सिडडी गाउँका गर्भवती महिलाहरू अहिले नियमित रूपमा बर्थिङ सेन्टरमा सेवा लिन आउँछन्।

सरिताका अनुसार पहिले करिब ७५ प्रतिशतभन्दा बढी महिलाहरू घरमै सुत्केरी हुने गर्थे,अहिले भने अधिकांश महिलाहरू बर्थिङ सेन्टरमै आउँछन्।गर्भ जाँचका लागि पनि महिलाहरूको उपस्थिति बढ्दै गएको उनले बताइन्।

उनले थपिन्, “टाढा–टाढाका गाउँबाट पनि राति सुत्केरी हुन आउने गर्छन्, उठेर सेवा दिनुपर्छ।अहिले घरमै सुत्केरी हुने संख्या निकै घटेको उनको भनाइ छ।

स्थानीय एक महिलाका अनुसार गाउँमा कोही सुत्केरी व्यथाले छटपटाउँदा सबैको मुखमा सरिता सिस्टरकै नाम आउँछ। उहाँको सेवाका कारण हामी उहाँलाई देउतासरह मान्छौं।”

बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाहरूले यातायात खर्चबापत ३ हजार रुपैयाँ, प्रोत्साहनबापत ८ सय रुपैयाँ र प्रदेशको ‘कोसेली’ कार्यक्रमअन्तर्गत २ हजार ५ सय रुपैयाँ पाउने व्यवस्था रहेको सरिताले जानकारी दिइन्। यसले पनि महिलाहरूलाई स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गरेको छ।

मुगुको कालैजस्तो दुर्गम क्षेत्रमा उनले दिएको सेवा गाउँ–गाउँमा स्वास्थ्य सेवा विस्तार गर्न महत्वपूर्ण सावित भएको छ। सोरु गाउँपालिका–७ का वडाध्यक्ष जयपुर बिष्टका अनुसार यस्ता समर्पित स्वास्थ्यकर्मीलाई प्रोत्साहन र सुविधा बढाउनु आवश्यक छ।

हिमाली जिल्ला मुगुका चार स्थानीय तहछायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा हेरन्डेक र ब्याक टु लाइफको सहयोगमा १८ वटा सुविधायुक्त बर्थिङ सेन्टर सञ्चालनमा छन्। यस्ता केन्द्रहरूले दुर्गम क्षेत्रमा बसोबास गर्ने दलित तथा विपन्न महिलाहरूलाई सुरक्षित प्रसूति सेवामा पहुँच पुर्‍याउन ठूलो सहयोग गरेका छन्।

साथै, सरकारले हिमाली दुर्गम क्षेत्रमा जोखिममा परेका सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था समेत गरेको छ।