रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
काठमाडौँ : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज हेर्दाहेर्दैमा राखेको छ।सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलवार सुनुवाइ भएको थियो।
सुनुवाई नसकिएकाले रिट भोलिका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले थाहाखबरलाई जानकारी दिए।
उनका अनुसार आज निवेदकका तर्फबाट बहस भएको थियो।
गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
यसअघि ६ पटक ‘हेर्न नमिल्ने’मा परेको रिट निवेदनमा मंगलबार सातौं पटकमा सुनुवाइ सुरु भएको हो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध उनले सर्वोच्चमा रिट निवेदन दिएकी हुन्।