भारतीय राजदूतावासको सहयोगमा प्रतिष्ठानलाई एम्बुलेन्स ।
जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एम्बुलेन्स उपलब्ध भएको छ । भारतीय राजदूतावासको सहयोगमा प्रतिष्ठानलाई अत्याधुनिक एम्बुलेन्स प्राप्त भएको हो । भारतिय दुताबासले कोरोना भाइरसको चपेटामा परेका कर्णालीका लागि एम्बुलेन्स सहयोगले कर्णालीवासीको स्वास्थ्य सेवा प्रवाह सहज हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा मङ्गल रावलले बताए ।उनले भने दूतावासले यो वर्ष नेपाललाई तीनवटा अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको छ । ती तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका छन् ।
एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोरजी मोबाइल डिभाइस जडान गरिएको उनले बताएका छन ।
महात्मा गान्धीको १सय ५१ औँ जन्म जयन्तीमा यस वर्ष भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र छ बस प्रदान गरेको होे । सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले झण्डै ८सय २३ वटा एम्बुलेन्स उपलब्ध गराएको जनाइएको छ ।








