नेपालीसँग बिहे गरेको सात वर्षमा मात्रै नेपाली नागरिकता दिनुपर्छ ः साझा विवेकशिल

काठ्माडौ, १७ बैशाख
रवीन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले नेपालीसँग विवाह गर्ने महिला वा पुरुषलाई सात वर्षमा नागरिकता दिने व्यवस्था गर्न माग गरेको छ ।
आज पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साझा विवेकशील पार्टी नेपालीसँग विवाह गर्ने पुरूष वा महिला जो भए पनि उनीहरूले नेपाली नागरिकता पाउनु अगाडि सात वर्ष नेपालमा स्थाई बसोबास गरेको हुनुपर्छ भन्ने धारणा राख्दछ ।’
समान व्यवस्था गर्दा महिला र पुरूषबीच नागरिकता वितरणमा रहेको एउटा प्रमुख विभेद अन्त्य हुने साझा पार्टीको विश्वास छ । यसो गर्दा नागरिकताको विषयलाई नेपालमा जसरी हलुका र अत्यधिक खुकुलो बनाइएको छ त्यसको जोखिम कम गर्न सकिने साझा पार्टीको ठहर छ ।
‘हाल नेपाली पुरूषले विदेशी महिला विवाह गरे उनले तुरून्तै नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरूषसँग विवाह गरे ती पुरूषले नागरिकता लिन कठिन हुने प्रावधान विद्यमान छ । यो प्रावधान विवेधकारी छ,’ विज्ञप्तीमा भनिएको छ ।
नागरिकता नपाउँदा सम्मको अवधिसम्मका लागि पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानुनीरूपमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न र अन्य अत्यावश्यक कार्यहरू गर्नका लागि विशेष परिचय पत्र प्रदान गर्न सकिने साझा विवेकशीलले जनाएको छ ।