श्रीमान हत्या आरोपमा पक्राउ परेकी महिलामाथि प्रहरी हिरासतमै बलात्कार

सप्तरीमा प्रहरी हिरासतमै रहेकी एक महिला बलात्कृत भएकी छन् । महिलाले आफूलाई बयानका नाममा प्रहरी अधिकृतले आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । श्रीमानलाई करेन्ट लगाएर हत्या आरोपमा उनी गत ४ चैतमा पक्राउ परेकी थिइन् । १२ वैशाखमा प्रहरीले उनलाई पेट दुखेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगेको र उनले अस्पतालको रेकर्डमा प्रहरीले बलात्कार गरेको उल्लेख गरेकी छन् ।

जिल्ला प्रहरीमा दिएको उजुरीमा पीडितले गत ६ चैतको राति इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखले मादक पदार्थ सेवन गरी बलात्कार गरेको आरोप लगाएकी छन् । सोही दिन राति फेरि अर्कोपटक पनि बलात्कार गरेको र कसैलाई भनेमा २० वर्ष जेलमा कोचिदिने धम्की दिएको उजुरीमा उल्लेख छ । ‘बलात्कारपछि कसैलाई यो कुरा भनेमा २० वर्ष जेलमा सडाइदिने धम्की दिएका कारण कसैलाई भन्न सकिन’, उजुरीमा लेखिएको छ । महिलाका कानुन व्यवसायी दुर्गानन्द चौधरीले अदालतले स्वास्थ्य परीक्षण गर्न आदेश दिए पनि प्रहरीले धम्की दिएर परीक्षण गराउन भनिएको आरोप लगाए ।ADVERTISEMENT

सम्बन्धित समाचार