शिक्षण अस्पताल जुम्लामा अक्सिजन प्लान्ट स्थापना

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन प्लान्ट स्थापना भएकोे छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बुधबार एक कार्यक्रमका बीच स्विच थिचेर अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ । अस्पतालमा अत्याधिक रुपमा आवश्यक रहेको अक्सिजन अब जुम्लाबाटै उत्पादन शुरु भएकोले प्रतिष्ठानको गतिमा अर्को ईटा थपिएको बताईएको छ ।

उद्घाटनका क्रममा मन्त्री तथा प्रतिष्ठानका पहल समितिका संयोजक भण्डारीले प्रतिष्ठानले अब अक्सिजन आयात गर्ने दिनको अन्त्य भएको र निर्यातको दिन सुरु भएको बताउनुभयो । उहाँले अब कर्णाली प्रतिष्ठानले अक्सिजन आपूर्तिका साथै कर्णाली प्रदेशभर निर्यात गर्ने बताउँदै अक्सिजन प्लान्टसँगै थुप्रै संरचनाहरु र पूर्वाधारहरु तयार भइसकेकाले प्रतिष्ठान लक्ष्य अनुसार अघि बढेको बताउनुभयाे। प्रतिष्ठानका हरेक बिरामीको बेडमा अक्सिजन जडान गरिएकाे प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानले मन्त्री भण्डारीसमक्ष आफ्ना गतिविधिको बारेमा जानकारी गराएको छ । प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा प्रतिष्ठानको स्थापित ऐन २०६८ अनुसार १३ जिल्ला र १५ अस्पतालमा सेवा शुरुवात गरिएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७५-०७६ मा ५४ हजार बिरामीको सेवा गरिएको जानकारी गर्नुभयो । उहाँले कर्णाली प्रदेशका १० जिल्ला र बजाङ, बाजुरामा आवश्यकता अनुसार विशेषज्ञ सेवा दिइरहेको बताउनुभयो ।

प्रतिष्ठानमा अहिले विशेषज्ञ सेवाहरुसहित आधुनिक ब्लड बैंक, प्रयोगशाला, आफ्नै फार्मेसी सुरु भइसकेका छन् । यसैगरी अक्सिजन प्लान्टसहित सीटी स्क्यानसमेत सुचारु भएको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित समाचार