सल्यान : सल्यानका मीनराज डिसी आमाबुवा विहीन दुई बालकका अभिभावक बनेका छन्। स्थानीय समाजसेवी डिसीले जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–५ खैरागारका ७ वर्षीय हिमाल राना र १२ वर्षीय प्रदीप रानालाई बागेश्वरी माध्यमिक विद्यालय सिम्ता सुर्खेत र लर्नग्रिन रिभर बोर्डिङ स्कुलमा भर्ना गगरेका छन्। दुवैलाई डिसीको समन्वयमा विद्यालयले निःशुल्क पढाउने तथा होस्टेलमा बस्ने व्यवस्था मिलाइएको छ।
६ वर्षअघि बुवा बुदे रानाको मृत्यु र एक वर्षअघि आमा कुमारी राना अर्कोसँग विवाह गरी गएपछि तीन भाइ बेसहारा भएका थिए। जेठो दाइ १३ वर्षीय खुमलाल राना पनि क वर्गका अपांगता भएका व्यक्ति हुन्। आमाबुवाविहीन तीन भाइ ८० वर्षीया हजुरआमा हिमा रानाको सहयोगमा बस्दै आइरहेका थिए।
सबै जना काम गरेर खान नसक्ने भएपछि डिसीले दुई भाइलाई पढ्ने, खाने, बस्ने व्यवस्था सहित विद्यालयमा भर्ना गराएका हुन्। गत वर्ष १२ वर्षीय प्रदीपलाई सल्लीबजारमा रहेको बोर्डिङ स्कुलमा भर्ना गराएको र यो वर्ष अपांगता भएका हिमाललाई सुर्खेतको एक विद्यालयमा भर्ना गराएको समाजसेवा मीनराज डिसीले बताए।