नेकपामा नयाँ धुव्रीकरण:सचिवालयमा ‘एक्लिए’ माधव नेपाल
काठमाडौं: सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ। नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ। सचिवालयकै नेता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन्। अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै जोड गरेका छन्। नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्र छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ।

सचिवालयमा ‘एक्लिए’ माधव नेपाल
पार्टी भित्र वरीयता घटाइएपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधव नेपालले सोमबार जनकपुर पुगेर आफूलाई अपमान भएको सार्वजनिक रुपमै बताए । यसले उनी पार्टी भित्र निकै कर्नरमा पर्दै गएको संकेत देखिएको छ । उनको असहमति रहँदारहँदै पार्टी सचिवालयका अन्य नेताहरु एकातर्फ उभिएपछि नेपाललाई अष्ठ्यारो पर्यो । त्यसैले उनले झलनाथ खनाललाई तेस्रो वरीयतामा राख्ने विषयको विरोध गरेनन्। तर उनी निर्णयहरुमाथि ‘नोट अफ डिसेन्ट’ भन्दै बैठकबाट हिँडे। नेकपाको सविचलायको शक्ति सन्तुलनभित्र सोमबारको बैठकमा नेपाल अहिले एक्लै जस्तो देखिए। सचिवालयमा नौ जना नेता छन्। त्यसमध्ये पछिल्लो कार्यविभाजनमा अरु सबै एकातिर जस्तो देखिएका छन्।
मलाई अपमानित गरियो : नेपाल
पछिल्लो कार्यविभाजनमा ओलीले आफूसँग असन्तुष्ट सबै नेतालाई मिलाएका छन्। पार्टीमा कुनै जिम्मेवारी नदिइएको भन्दै रुष्ट रहेका गौतमलाई उपाध्यक्ष बनाउन ओली र दाहालले प्रस्ताव गरेका थिए। ओलीले अझ गौतमलाई कास्की-२ मा चुनाव लड्नसमेत अफर गरिरहेका छन्। त्यस्तै स्कुल विभागको जिम्मेवारी मागेका ईश्वर पोखरेललाई केही दिन छलफल लम्ब्याएर भए पनि ओलीले त्यही विभाग दिलाएका छन्। जुन विभागको विवाद हुँदा नेपाल समूहले पोखरेलको सट्टा अन्य विकल्पमा जान सकिने धारणा राखेको थियो। पोखरेल पनि पछिल्लो समय ओलीसँग केही असन्तुष्ट थिए।








