वर्षाले कर्णालीमा कतै पहिरो, कतै डुबान

कर्णाली प्रदेशमा परेको पानीले जनजीवन प्रभावित भएको छ । कतै पहिरो गएको छ भने कतै डुबानले समस्या निम्त्याएको छ । प्रदेशका पहाडी जिल्लाका विभिन्न स्थानमा पहिरो खसेको छ । वर्षाले कर्णाली राजमार्गको दर्जनभन्दा बढी ठाउँमा पहिरो गएकोे छ । जसले गर्दा दिनभर सवारी आवागमन अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट–जुम्ला खण्ड र दैलेख–कालिकोट खण्डको दर्जन बढी स्थानमा पहिरो गएको छ । वर्षाले दैलेखको सियाकोट–तल्लो डुंगेश्वर सडकखण्डको रती खोलामा सडक भासिएको छ ।
त्यस्तै, बाढीले सडक बगाएपछि नेपालगन्ज, सुर्खेतबाट दैलेखको पश्चिम क्षेत्र, अछाम, कालिकोट, मुगु र जुम्ला जाने सवारीसाधनहरू रोकिएका छन् । रती खोलामा बाढीले ५० मिटर सडक भासिएको छ । कर्णाली राजमार्गको कालिकोट दैलेख खण्डको घट्टेखोला, दही खोला, गगनेभीर र सुनार खोलामा पनि पहिरोले सडक अवरुद्ध भएको छ । कालिकोट जुम्ला खण्डको मोल्फा, पिलि, खल्लागाड, राँचुलीलगायतका विभिन्न दर्जन बढी स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको जनाइएको छ । पहिरोले सडक अवरुद्ध भएपछि जुम्ला, कालिकोटदेखि सुर्खेत, नेपालगन्ज र नेपालगन्ज सुर्खेतदेखि कालिकोट जुम्ला, मुगु जाने सयौँ यात्रुहरू अलपत्र परेका छन् । कालिकोट खण्डको सडकमा खसेको पहिरो बुधबार पन्छाए पनि दैलेख खण्डमा बाँकी रहेकोले सवारी आवागमन हुन नसकेको कालिकोटमा इन्स्पेक्टर नेत्र बुढाले बताए ।








