काठमाडौं । रुपन्देही २ मा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गर्ने सम्भावा देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । अहिले यो क्षेत्रमा सत्ता गठबन्धन उम्मेदवारबिहीन भएको छ ।
गुरुङको उम्मेदवारी अघिल्लो मंगलबार निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च पुगेका थिए । तर, सर्वोच्चले पनि उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सदर गरिदियो ।
उनको उम्मेदवारी खारेज हुनुमा चेक बाउन्स मुद्दामा काठमाडौं जिल्ला अदालतले खारेज गरेको मुद्दा कारण बनेको हो ।
यो क्षेत्रमा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चुनौती दिन सक्ने उम्मेदवारको खोजीमा सत्ता गठबन्धन छ ।
आफ्नो तर्फबाट उम्मेदवार नहुँदा सत्ता गठबन्धनले अर्को कुनै उम्मेदवारलाई समर्थन गर्न सक्ने बताइन्छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार थापामगरलाई समर्थन हुन सक्ने गठबन्धन स्रोतको दाबी छ । अन्य उम्मेदवारभन्दा धेरै मत रहेका थापामगरको साथमा करिब ८ हजार मत रहेको विश्वास गरिन्छ । केन्द्रीय निर्णयअनुसार नै अगाडि बढ्ने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन बताउँछन् । ुयो राष्ट्रिय राजनीतिको कुरा भएकोले केन्द्रबाट नै निर्णय हुनेछ । हामिले एक किसिमको आन्तरिक छलफल त गरेका छौँ । अझै बाहिर ल्याउने आउने गरी टुंगो लागेको छैन ।’
अब यी हुन् रुपन्देही २ मा उम्मेदवार
यो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित १५ जनाको उम्मेवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा ७ जना दलीय र ८ जना स्वतन्त्र उम्मेदवार छन् । तर अहिलेको चुनावी माहोलअनुसार पौडेललाई टक्कर दिने कोही देखिएका छैनन् । यस्तो अवस्थामा गठबन्धनलाई जाने मत बाँडिन सक्छ । दलका तर्फबाट नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी उम्मेदवार छन् । यो दलको संगठन यहाँ बलियो छैन । गठबन्धन उम्मेदवार नहुँदा उनले केही बढी मत तान्न सक्छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरले जनजाति समुदायको बढी मत तान्न सक्छन् । कांग्रेस बिपीकी नमादेवी गौतम जैसी पनि उम्मेदवार छिन् । गठबन्धनको उम्मेदवार नहुँदा उनले कांग्रेसको केही मत तान्न सक्ने अनुमान छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पनि पछिल्लो समय चर्चा भएको छ । यो पार्टीबाट गणेश पौडेल उम्मेदवार छन् । अहिलेसम्म चुनावी मैदानमा उपस्थिति खासै देखिएको छैन । तर पनि रविप्रतिको क्रेजले गठबन्धनको कतिपय भोट स्वतन्त्र पार्टीको घण्टी चिह्नले पनि तान्न सक्छ ।
त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका दीपक थापा र नेपाल दलित पार्टीका राजु शाही पनि उम्मेदवार छन् । यी दुई पार्टीको यहाँ खासै प्रभाव छैन । स्वतन्त्र उम्मेदवार रुपसिंह थापा तत्कालीन अवस्थामा शाही शासनको बेला भएको चुनावमा बुटवलको मेयर भएका थिए । उनको कार्यकाल धेरै लामो भएन । अन्य स्वतन्त्र उम्मेदवारहरुमा सुरेन्द्र भारी, टोपनारायण पौडेल, केशव बस्याल, विष्णु विश्वकर्मा, तुल्सीराम यादव र तारा घिमिरे छन् ।
यो घटनाले रोक्यो गुरुङलाई उम्मेदवार बन्न
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का लिएका गुरुङ , युवासंघका प्रवक्ता सन्जीव राई र झलनाथ खनालका छोरा निर्भिकसहितको कम्पनी नर्थ वेष्ट नेपाल इन्फा प्रालिले निर्माण सामग्री खरिद गरेर भूक्तानीका लागि दिएको चेक बाउन्स भएको थियो । त्यसैले कम्पनीसहित अध्यक्ष गुरुङ र निर्भिक, फुर्वाछिरिङ्ग शेर्पा, संजिप राई र शक्तिमान डंगोल गरी पाँचजना सञ्चालकविरुद्ध वेष्ट प्रोजेक्ट कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले चेक बाउन्सको मुद्दा दायर गरेको थियो ।
२०७६ साउन ६ गते दायर भएको चेक बाउन्सको मुद्दामा विभिन्न मितिका सात थान चेकबाट २ करोड २५ लाख रकम रहेको चेक बाउन्स भएको दाबी गरिएको थियो । सो मुद्दामा जिल्ला अदालत काठमाडौंले गुरुङ, खनाल, शेर्पा, राई र डंगोलविरुद्धको कसुर पुष्टि गर्दै २०७८ मंसिर १२ गते विनिमय अधिकार पत्र ऐन, २०३४ बमोजिम जनही दुई हजार जरिवाना सजाय तोकेको थियो । साथै उनीहरुबाट २ करोड २५ लाख रकम र त्यसको १० प्रतिशतका दरले हुन आउने ब्याज भराउन आदेश गरेका थियो ।
चाइनिज कम्पनीहरूले निर्माण ठेक्का पाएका विभिन्न काममा पेटी ठेकेदारको रुपमा काम गर्ने प्रालिले निर्माणका लागि ल्याएका सामग्रीको पैसा चाइनिज कम्पनीले नदिएकाले पैसा दिन नपाएको उनीहरूले जिल्ला अदालत काठमाडौंमा बयान दिएका थिए । तर, मुद्दा हारेपछि पैसा दिने तयारीको समयमा एमाले उपाध्यक्ष विष्णु पौडेलले आफूले मिलाइदिने बताउँदै पैसा नदिन भनेकाले चुप बसेको र यतिबेला त्यही घटनाको कारणले समस्या भएको गुरुङ निकट एक नेताको दाबी छ ।