जुम्लाको पातारासी गाउँपालिकाद्वारा २३२ योजना सम्पन्न
खलङ्गा : जुम्लाको पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा २३२ वटा योजना सम्पन्न गरेको छ । पालिकाभित्रका सबै वडामा सो योजना सम्पन्नका लागि रु १९ करोड १८ लाख ६३ हजार ६०० खर्च भएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।
स्थानीय समुदायका मागमा आधारित योजना सफतापूर्वक निर्माण गरी सञ्चालनमा आएका छन् । सो गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रमा अध्यक्ष बोहोराले सो जानकारी दिएका हुन ।
चालू आवमा एक स्थानीय तह एक खेल मैदान, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, कृषि कार्यालय जुम्लाको आलु पकेट सिँचाइ कार्यक्रमको २ प्रतिशत, राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा चार प्रतिशत, वित्तीय समानीकरणतर्फ २१ प्रतिशत, प्रधानमन्त्री रोजगार कार्यक्रममा सात प्रतिशत बजेट खर्च भइसकेको छ ।
यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमको १७ प्रतिशत, सङ्घ सरकारको समपूरक र विशेष अनुदानतर्फको ३९ प्रतिशत, वित्तीय समानीकरणतर्फको अध्यक्ष/उपाध्यक्ष विकास कोषतर्फ २ प्रतिशत र नेपाल जलवायु परिवर्तन कार्यक्रमतर्फको आठ प्रतिशत रकम पालिकाले खर्च गर्न सफल भएको उनको भनाइ छ ।
पालिकाभित्र ४० वटा सडक निर्माण भई सञ्चालनमा आएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा ग्राभेल सडक ५१ हजार मिटर र २०७७/०७८ मा ७५ हजार मिटर सडक ग्राभेल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।









