कोभिडबाट मृत्यु भएका २२ जुम्लीले पाए राहत

जुम्ला– जिल्ला प्रशासन कार्यालय जुम्लाले कोभिड–१९ संक्रमण पुष्टि भई मृत्यु भएका प्रतिघरपरिवारलाई १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट जुम्लाका २२ मृतकका परिवारमध्येका हकवालालाई रकम उपलब्ध गराइएको हो ।

 

पहिलो चरणको कोरोना संक्रमणमा जुम्लाले मृत्यु बेहोर्नुपरेको थिएन । दोस्रो संक्रमणले मृत्यु भएका व्यक्तिका घरपरिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘संक्रमणको तेस्रो तहमा जुम्लाले अहिलेसम्म मृत्यु बेहोर्नुपरेको छैन ।’

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० वैशाख ०७७ देखि कोभिड परीक्षण ल्याब सञ्चालनमा आएको छ । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो ।

 

यसमध्ये ४ सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो । दोस्रो लहरको संक्रमण जुम्लामा ०७८ वैशाखदेखि देखिएको हो । ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमित भएका थिए ।

 

३ हजार ८ सय २ जनाको एन्टिजेन परीक्षणमध्ये ४५६ जना संक्रमित भएका थिए । १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ रहेका छन् ।

 

संक्रमणको तेस्रो लहरमा जुम्लामा संक्रमित हुने संख्या १७८ पुगेको छ । यसमध्ये ९३ जना निको भइसकेका छन् भने ८५ जना संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ५ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार छन् भने ८० जना होम आइसोलेसनमा छन् ।

सम्बन्धित समाचार