जुम्लाका ८५ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोप

जिल्ला जनस्वास्थ कार्यालय जुम्लाले जिल्ला भित्रका ८५ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएको जनाएको छ । जसअनुसार ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएका हुन । कुल जनसंख्याको ५६ प्रतिशत अर्थात ४५ हजार ४८८ नागरिकले पुर्णखोप लगाइसकेका छन । बुस्टर खोप २ हजार ८८ जनाले मात्र लगाएका छन । त्यो कुल संख्याको ३ प्रतिशत मात्र हो ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटले सबैभन्दा बढी चन्दननाथ नगरपालिकाका नागरिकले कोभिडविरुद्धको खोप लगाएको जानकारी दिए । उनका अनुसार २५ हजार ९९३ जनाले कोभिड विरुद्धको खोप लगाएका छन । चन्दननाथ नगरपालिका जुम्ला सदरमुकाम खलंगा भित्र पर्छ । यो जनघनत्वको हिसावले पनि बढि छ । जिल्लाको एक नगरपालिका र सात गाउँपालिका मध्ये चन्दननाथ नगरपालिकाका नागरिकले बढि कोभिडविरुद्धको खोप लगाएका हुन ।
चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले कोभिडविरुद्धको पहिलो खोप १३ हजार ९७२, दोस्रो खोप ११ हजार ७९४ र बुस्टर खोप १ हजार २ सय २७ जनाले लगाएको जानकारी दिए ।
पातारासी गाउँपालिकामा पहिलो खोप ९ हजार ४६६, पूर्ण खोप ७ हजार ३१५ र बुस्टर १७३ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । कनकासुन्दरीमा कोभिडविरुद्धको पहिलो खोप ६ हजार १०७ र पूर्ण खोप ४ हजार ४३६ जनाले लगाएका छन् । सिंजामा पहिलो खोप ५ हजार ३५४ र पूर्ण खोप ४ हजार ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

गुठीचौर गाउँपालिकामा पहिलो खोप ७ हजार ५२६, पूर्ण खोप ४ हजार ६५७ र बुस्टर खोप ४०७ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।
तातोपानी गाउँपालिकामा पहिलो खोप ७ हजार ४४१ र पूर्ण खोप ४ हजार ६१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने तिलामा पहिलो खोप ५ हजार ९५४ र पूर्ण खोप ३ हजार ५९४ जनाले लगाएका छन् । हिमा गाउँपालिकामा पहिलो खोप ६ हजार १९७ र पूर्ण खोप ४ हजार ६० जना र बुस्टर १७८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
पहिलो चरणको खोप लगाउन यहाँका नागरिकले मानेका थिएनन ।

परीक्षणका लागि खोप आएको भन्दै धेरैले खोप लगाउन मानेनन । पछिल्लो समयमा सार्वजनिक स्थानमा सेवा लिन र दिनको लागि अनिवार्य रुपमा खोपकार्ड आवश्यक पर्ने सरकारले निर्णय गरेपछि अहिले कोभिडविरुद्धको खोप लगाउन हानाथाप नै छ । अहिले हवाईसेवा लिन, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन र सार्वजनिक भेला,गोष्ठीमा सहभागि हुन अनिवार्य रुपमा खोपकार्ड बोक्नु पर्ने प्राव्धानले खोप लगाउन नागरिकलाई आकर्षित गरेको स्थानीय बताउँछन । अहिले खोप अभियान निरन्तर जारी छ । शंकास्पद व्यक्तिको एन्टिजेन तथा पिसिआर परिक्षण गर्ने कार्य चलिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।