हिमपातले नाग्म–गमगडी सडक अबरुद्ध

जुम्ला ः कर्णालीमा तेस्रो पटक वर्षा सहित भारी हिमपातले नाग्म–गमगडी सडक अबरुद्ध भएको छ । विहिबार साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अबरुद्ध भएको हो । जुम्ला बोता देखि मुगुको पिना सम्म सडकमै झण्डै ३ फिट भन्दा बढी हिउँ जमेपछि सडक अबरुद्ध भएको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख सन्तोष भण्डारीले बताए ।
उनका अनुसार जुम्ला र मुगु जोड्ने सिमा क्षेत्र बुलेबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अबस्थामा छ । घाम लागेको खण्डमा सडक सुचारु गर्ने तयारी छ । उनले भने,“तत्काल भने सडक खुल्ने सम्भावना छैन् ।
त्यस्तै बोता देखि पिना सम्म उकालोमा झण्डै ७ वटा मोड भएकोले हिउँ पन्छाए पनि गाडी चिप्लीने सम्भावना बढी छ । त्यसैले पुर्ण रुपमा सडक सञ्चालनमा आउन झण्डै एक हप्ता लाग्ने सक्ने देखिएको छ ।
सडक अबरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । मुगुमा हुने आयात निर्यात सबै ठप्प हुने छ । अघिल्लो पटकको हिमपातले अबरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनःअबरुद्ध भएको हो ।
त्यस्तै जुम्ला हुदै मुगु राराताल जाने छोटो पर्यटकिय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पुर्ण रुपमा अबरुद्ध भएको त्यहाका स्थानीयले बताएका छन । उक्त सडक अबरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् ।
ग्रामिण सडकहरु अबरुद्ध
त्यस्तै जुम्लाका आठै पालिका जोड्ने ग्रामिण सडकहरु पनि हिमपातले अबरुद्ध भएका छन् । कर्णाली राजमार्गको त्रिवेणी हुदैं ताम्ती टोप्ला इमिल्छा जाजरकोट जोड्ने सडक,जुम्ला सदरमुकामदेखि पातारासी जोड्ने सडक,जुम्लाबाट गुठिचौर जाड्ने सडक लगायतका दर्जनौ ग्रामिण सडक अबरुद्ध भएका छन् । सुत्केरी विरामीलाई अस्पताल ल्याउन समेत सकस हुने देखिएको गुठिचौर गाउँपालिका २ का क्षेत्र बुढाले बताए ।
कर्णाली राजमार्ग सञ्चालनमा
हिमपातले विभिन्न ठाउँमा अबरुद्ध कर्णाली राजमार्ग भने विहिबार रातीदेखिनै सञ्चालनमा आएको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताइन । उनका अनुसार जुम्ला खण्डको एैरेनीदेखि धौलापानी सम्म जाम भएका गाडी खुलेका छन् । त्यस्तै कालिकोटको पिलि र विर्तामोडमा पहिरोले अबरुद्ध सडक पनि खुलेको सडक डिभिजन जुम्लाका निमित्त प्रमुख भण्डारीले बताए ।
हिमपातले जुम्लामा विद्युत सेवा पनि अबरुद्ध भएको छ । विभिन्न ठाउँमा पोल ढलेपछि विद्युत अबरुद्ध भएको हो ।








