हिमपातले कृषि क्षेत्रलाई राहत,किसान उत्साहित

जुम्ला ः कर्णालीमा तेस्रो पटक भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातसंगै बढेको अत्यधिक चिसोले गर्भवती महिला,बालबालिका,जेष्ठनागरिक र दिर्घरोगीको दैनिकी कष्टकर बनेको छ । भने,अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ । तर माघ अन्तिममा परेको हिँउले कृषि क्षेत्रलाई ठुलो राहत पुराउने भएपछि किसान निकै उत्साहित भएका छन् ।
पातारासीका स्याउ किसान तारा बहादुर बोहोरा भन्छन,“माघ अन्तिममा परेको हिउँले कर्णालीको हिउँदेबालीलाई निकै राहत गर्छ । भने स्याउ बगैचा व्यवस्थापन,सिँचाईमा समेत सहयोग पुग्छ । विरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने,हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम शुरु हुन्छ । सिचाई पहूँच नभएको ठाउँमा हिउँले राहत पुराउँछ ।”
माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने,भोकमरी नहुने पनि विश्वास गरिन्छ । विशेष गरी अहिलेको हिउँले स्याउ बगैचा व्यवस्थापनमा टेवा पुराउँछ । हाल जुम्लाका झण्डै १७ हजार बढी घरधुरी स्याउ खेतीमा निर्भर रहेका छन् ।
उता कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी अहिले परेको हिउँलाई संकलन गरी हिउँपोखरी बनाएमा सिँचाईका लागि टेवा पुग्ने बताउँछन् । विभिन्न गाउँमा हिउँ संकलन पोखरी निर्माण भएकोले हिउँ जम्मा गरी स्याउ बगैचा,तरकारीबारीमा सिँचाई गर्न सकिने उनको भनाई छ ।
हिउँसंकलन पोखरी नभएका किसानले भर्खर रोपेका स्याउको विरुवा वरिपोरि खाडल बनाएर हिउँ जम्मा गरिदिएपछि महिनौ दिन सम्म सिँचाई गर्नु नपर्ने समेत प्रमुख अधिकारीले जानकारी दिए । । यतिबेलाको हिउँलाई सदुपयोग गर्न सके हिउँदे बाली र स्याउ उत्पादन बृद्धिमा टेवा पुग्ने देखिन्छ ।








