जहाँ १० रुपैयाँ तिरेर टिकटक बनाउनेदेखि फोटो सेसनसम्म गर्न पाइन्छ

सुर्खेत । लाम्चो आकारको बारीमा पहेँलै भएर फुलेका फूल। ढकमक्क बारीमा तस्वीर खिचाउनेहरूको भीड ।
कोही आफ्नो सेल्फी खिच्दै, कोही अरु साथीहरूको तस्वीर खिचिदिँदै । कोही भने बारीमा फोटो खिच्न जानका लागि छेउमा बसेका मालीलाई शुल्क तिर्दै ।
यो दृश्य हो सुर्खेतको बुलबुले उद्यान नजिक रहेको सूर्यमुखी खेती गरिएको एक बारीको ।
पछिल्लो समय सामाजिक सञ्जालसँगै मनोरञ्जनात्मक भिडियो बनाइने ‘टिकटक’मा यो बारीको दृश्य धेरै नै देखिने गरेको छ ।
चार जना युवाहरू मिलेर व्यवसायिक रूपमा सूर्यमुखीको खेती गरेको यो बारी अहिले आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षण बन्ने गरेको छ ।
‘दिनमा डेढ सय भन्दा धेरै यहाँ आउनुहुन्छ, शनिबार त तीन सय जति नै आउनुहुन्छ,’ उक्त सूर्यमुखी खेती गरेकामध्ये कपिल अधिकारीले भने, ‘हाम्रो बुलबुले नजिकै भएकाले त्यहाँ आउनेहरू यहाँ अनिवार्य आउनुहुन्छ।’
त्यो सूर्यमुखी बारीमा फोटो खिचाउन आउने मानिसहरूले प्रतिव्यक्ति १० रुपैयाँ तिर्नुपर्छ। यसरी दैनिक १५० जना मात्र आए पनि न्यूनतम १ हजार ५०० रुपैयाँ आम्दानी हुन्छ ।
‘मानिसहरू टिकटकको भिडियो बनाउनेदेखि फोटो खिच्नेसम्म यो बारीभित्र गर्नुहुन्छ,’ उनले भने, ‘त्यसबेले धेरै बोटहरू भाँचिन्छन् ।
हामीले घाटा व्यहोर्नुपर्छ । यसकारण एक जनाबाट हामीले १० रुपैयाँ लिने गरेका हौं।’
स्थानीय कपिल अधिकारी, लक्ष्मी अधिकारी, धनिराम अधिकारी र सज्ज ढकाल मिलेर ६ कठ्ठा जमिनमा व्यवसायिक रूपमा सूर्यमुखीको खेती गरेका छन् ।
वार्षिक १ लाख ४० हजार रुपैयाँ भाडामा जग्गा लिएर गरिएको फूल खेतीमा २ लाखभन्दा धेरै लगानी लागेको सज्जन ढकालले बताए ।
यो पहिलो अनुभव भएकाले अहिलेको खेती सिकाइका रूपमा मात्र आफूहरूले लिएको उनको भनाइ छ ।
अहिलेको अवस्थालाई मध्यनजगर गर्दै आगामी दिनमा सूर्यमुखीको खेतीमा वृद्धि गर्ने योजना रहेको ढकालले बताए । सेताेपाटीबाट

सम्बन्धित समाचार