सुर्खेतमा सडक सास्ती, मास्क लगाएर मर्निङ वाक

सुर्खेत । वीरेन्द्रनगरका औषधि व्यवसायी प्रेम भण्डारी प्रत्येक दिन मर्निङ वाक गर्न सडकमा निस्कन्छन् । शरीर फुर्तिलोसँगै स्वस्थ राख्ने उद्देश्यले हिँडे पनि सडकको धुलो र फोहोरले थप अस्वस्थ भइन्छ कि भन्ने चिन्ताले उनलाई सताउँछ ।
प्रदूषित सडकका कारण मास्क लगाएर मर्निङ वाक गर्दै सुर्खेतका एक स्थानीय । यहाँका स्थानीयलाई धुलाम्मे सडक र बिहानैदेखि चल्ने सवारीसाधनले गर्दा सहज ढंगले मर्निङ वाकसमेत गर्न सकस छ ।तस्बिर स् कलेन्द्ररकान्तिपुर
’बिहानैदेखि बाटोमा धुलो धुुवाँ हुन्छ, स्वच्छ हावा लिन पाइँदैन,’ उनी भन्छन् ।
’स्वच्छ वातावरणमा हिँडौ भने त्यस्तो क्षेत्र कतै छैन, जता पनि दुर्गन्ध मात्रै छ ।’ मर्निङ वाक गर्नका लागि छुट्टै पैदल मार्गको व्यवस्था भए सहज हुने भण्डारी बताउँछन् ।
सहारा क्याम्पसमा अध्ययनरत ओमकान्त तिवारी पनि बिहान क्याम्पस जाँदा मास्क लगाएर हिँड्नुपर्ने बाध्यता सुनाउँछन् । सडकमा बिहानैदेखि गुड्ने गाडीका धुवाँ र धुलाम्मे सडकका कारण हिँड्नै सकस हुने गरेको उनको गुनासो छ ।
’बिहान फ्रेस भएर क्याम्पस हिँडिन्छ,’उनी भन्छन्, ’बाटोभरि धुलो धुवाँले ड्रेस त फोहोर गराउँछ नै, त्यसैमाथि सफा हावाको सट्टा गाडीको धुवाँ खाँदै हिँड्नुपर्छ ।’
वीरेन्द्रनगरको कुनै पनि क्षेत्रमा मर्निङ वाक गर्नका लागि उपयुक्त वातावरण नभएको खेलाडी प्रमोद हमालको भनाइ छ । यहाँको वातावरण स्वस्थ नभएकै कारण उनले मर्निङ वाक गर्न पनि छाडे । ’बाटोभरि ढुंगा, गिट्टी, बालुवा थुपारिएको छ,’ उनले भने, ’हिँड्नका लागि हरियो दुबो भएको क्षेत्र हुनुपर्छ, यहाँ त बिहानै पनि मास्क लगाएर हिँड्नुपर्ने बाध्यता छ ।’ मर्निङ वाक गर्दा ढुंगा, गिटी, बालुवा थुपारिएको क्षेत्र धेरै भएकाले यसले हाडजोर्नीको थप समस्या उत्पन्न गराउने उनले बताए ।
बिहान स्वच्छ हावामा शारीरिक र मानसिक रुपमा नै स्वस्थ हुनका लागि अधिकांश नागरिक मर्निङ वाक गर्ने गर्दछन् ।
तर, बिहानको समयमा समेत स्वच्छ वातावरणमा नागरिक यात्रा गर्न पाएका छैनन् ।
वीरेन्द्रनगरमा स्वस्थ वातावरणको अभाव हुन थालेको स्थानीयको गुनासो छ । बढ्दो सहरीकरणसँगै प्रदुषित हुँदै गएको वातावरणले नागरिकको स्वास्थ्यमा थप असर पारेको छ, जसले गर्दा विभिन्न रोगको संक्रमण देखा पर्नेसमेत जोखिम बढेको छ ।
नगरभित्रका अव्यवस्थित सडकका कारण मर्निङ वाक गर्नमात्र होइन पैदल सवारी साधन चलाउनेले पनि सास्ती खेपिरहनुपरेको छ । सडकमा परेका खाल्डाखुल्डीका कारण सर्वसाधारण आजित छन् । नगरभित्रका विभिन्न सडकहरू अहिले हतारहतारमा टालटुल गर्न थालेको देखेर वीरेन्द्रनगरका उमेश गुरुङ असारे विकासको चिन्ता सुनाउँछन् ।
’हरेक वर्ष यही विकास देख्न पाइन्छ,’ उनी भन्छन् ।, ’अलि(अलि टालेर काम गरेजस्तो गर्छन्, फेरि केही महिनामा सडकको हालत उस्तै हुन्छ ।’ जति सडक टाले पनि कच्ची सडकमै हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए ।
पक्की सडकमा खाल्डै खाल्डा भएकोले उफार्दै बाइक चलाउनुभन्दा कच्चीमै ठिक हुने गरेको उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाले मर्निङ तथा इभिनिङ वाक गर्नका लागि खुला पार्कको व्यवस्था गरिने जनाएको छ ।
कान्तीपुरबाट








