२५६३ औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । आज २५६३ औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मेका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए। ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए ।
भगवान् बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गरेको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् ।
यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि पर्दछन् ।

‘गौतमबुद्ध गौरवका सत्पात्र’
प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन् । २५६३औँ बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरेका छन् ।
‘संसारमा दुःख छ र दुःख हटाउनसके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतमबुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘जातीय भेदभाव र छूवाछुत प्रथाको विरोध गरे, समनताको सिद्धान्तको प्रतिपादन गरे, त्यसैले गौतमबुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।’
बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित भएकाले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले समेत गौतमबुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तका रुपमा अवलम्बन गरी संसारलाई त्यसैअनुरूप शान्तिको बाटोमा डोर्होयाउन खोजेको सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकार सधैं सकारात्मक रहेको भन्दै बुद्धजयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्धप्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

‘बुद्धका उपदेश पालना गरेमा राष्ट्रिय एकता सुदृढ गर्न सकिन्छ’
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको बताएकी छन् । गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न दिगो शान्ति र राष्ट्रिय एकतामा जोड दिएकी हुन् ।
राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ(आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबैमा आहृवान पनि गरेकी छन् ।
विश्वशान्तिका अग्रदूत गौतम बुद्धका उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने उनको भनाइ छ । बुद्धका उपदेशले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सदभाव कायम गर्ने उनको विश्वास छ ।
राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनीमा जन्मेका राष्ट्रगौरव बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको दिनमा हामी सबैमा एकापसमा सहिष्णुता, सदभाव, अहिंसा एवम् विश्व शान्तिको अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।
गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा उनले शुभकामना समेत दिएकी छन् ।

सम्बन्धित समाचार