जलवायु परिवर्तनले बेमौसमी विपत्ति

काठमाडौँ — आइतबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोले कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका मात्र ८ जना छन् । बैतडीमा ३, सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको हो । बझाङमा २४ र डोटीमा १ गरी २५ जना बेपत्ता छन् ।

नदी तथा खोलामा जलस्तर बढेर बस्ती पस्दा २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । कर्णाली नदीको तटबन्ध भत्किएर बस्ती पस्दा बर्दियामा मात्रै हजारभन्दा बढी घर डुबेका छन् ।

डोटीको सायल गाउँपालिका–६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घर पहिरोले पुर्दा उनका छोराहरू १४ वर्षीय सागर र १० वर्षीय आशिषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । जोरायल–३ का ६२ वर्षीय जोगी सार्कीको पहिरोमा परी घटनास्थलमै मृत्यु भएको छ । गम्भीर घाइते उनकी श्रीमतीको पनि उपचारका क्रममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् । सइकडा खोलाको बाढीले घर भत्काउँदा जोरायल–४ का एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोराहरू १८ वर्षीय मोहन र १६ वर्षीय रविन तथा छोरी १६ वर्षीया पवित्रा रहेको डोटी प्रहरीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीमा रामी पार्कीको घर पहिरोले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए । त्यस्तै, सिन्धुलीमा मामाघरमा दसैंको टीका लगाएर फर्किने क्रममा चाल्ने खोलाले बगाएर मंगलबार फिक्कल गाउँपालिका ५ जाङजाङकी २० वर्षीया सरिता भुजेलको मृत्यु भएको छ । गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार सरिताको शव खोलाले बगाउँदै गरेको अवस्थामा करिब एक किलोमिटर तल भेटिएको थियो ।

कालीकोटको महाबै गाउँपालिका–७ राम्नीमा पहिरोले घर बगाउँदा १८ वर्षीय स्मृति अधिकारीको मृत्यु भएको छ । उनीसँगै सुतेकी १५ वर्षीया इशानी अधिकारी घाइते भएकी छन् । डडेलधुराको गन्यापुर गाउँपालिका–१ भात्काडामा पहिरोमै पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ । अवस्थीकी छोरी ६ वर्षीया सरिता घाइते छिन् । यता, सुनसरीको धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गस्थित विशाल राईको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ । धरानस्थित संघीय प्रहरी इकाई कार्यालयका एसपी भीम दाहालका अनुसार ४ वर्षीय निहान राई र ७ वर्षीया निसु राईको मृत्यु भएको हो ।

सेतीको बाढीमा फसेकाको अझै भएन उद्धार

बैतडीको सिगास गाउँपालिका–५ ढुंगाडमा सेती नदीको बाढीमा फसेका ६० जनाको मंगलबार राति अबेरसम्म उद्धार हुन सकेको छैन । बस्तीको दायाँबायाँ दुवैतर्फबाट बाढी पसेर बनेको टापुमा ६० जनासम्म फसेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनका अनुसार मंगलबार सुर्खेतबाट आएको सेनाको हेलिकोप्टरले धेरै पटक उद्धारको प्रयास गरे पनि प्रतिकूल मौसमका कारण उद्धार हुन सकेन ।

मंगलबार साँझ एक प्रहरी हवल्दार उक्त टापुमा पुगेको र त्यहाँ फसेकाहरू सबै सकुशल रहेको जानकारी आएको भारतीले बताए । नदीको बहाव निरन्तर बढी रहेकाले पूरै बस्ती जोखिममा रहेको स्थानीयको भनाइ छ । उक्त बस्तीका डेढ सय घरधुरी सबै डुबानमा परेको स्थानीय राजेन्द्र चन्दले बताए । सोमबार राति बाढी बस्तीमा पसेपछि भाग्न सफल भएकाहरू भने नजिकैको विद्यालय र आफन्तकहाँ आश्रय लिएर बसेका छन् । टापुमा फसेका र विद्यालय, स्वास्थ्य चौकीलगायतमा आश्रय लिएकाहरूले दुई दिनदेखि खाना खानसमेत नपाएको गुनासो गरेका छन् ।

कैलालीमा सयौं घर डुबे

कर्णालीको बाढीले कैलालीको पूर्वी भाग डुबानमा पारेको छ । भजनी नगरपालिकाका करिब २ सय घरमा पानी पसेको भजनी–५ का वडाध्यक्ष केशव बुढाले बताए । जानकी गाउँपालिकाको पाताभार, टीकापुर नगरपालिकाको शाहीपुरलगायत क्षेत्रमा पनि तटबन्ध भत्काएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । कर्णालीमा जलस्तर बढ्दा दक्षिणका तटीय क्षेत्रहरू टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका भूभागमा जोखिम बढेको छ ।

पथरैया, कान्द्रा, काढा र मोहना नदीमा समेत जलस्तर बढेको छ । स्थानीय नदी तथा खोलाको बाढीले धनगढी उपमहानगरपालिका केही बस्तीसहित जिल्लाका विभिन्न भागमा कटान र डुबान निम्तिएको छ । धनगढी–४ बसपार्क, ३ विशालनगर, मिलनचोक, १ सन्ताषी टोल, बजार मार्ग, शिवनगर, ५ हसनपुर क्षेत्रलगायत बस्ती डुबानमा परेका छन्

बर्दियामा हजारभन्दा बढी घर डुबानमा

कर्णालीकै बाढीले बर्दियामा एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा गरी हजार बढी घरमा बाढी पसेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । भारतको गिरिजापुरीस्थित कर्णाली नदीको बाँधका ढोका नखोल्दा राजापुर क्षेत्रमा बाढी पसेको गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले सुनाए । ‘५५ मध्ये अधिकांश ढोका बन्द गरेको जानकारी आएको छ,’ उनले भने । २०४० सालमा भारतले यसैगरी बाँधका ढोका बन्द गर्दा ठूलो धनजनको क्षति भएको थियो । प्रमुख जिल्ला अधिकारी सुनारले बाँधका ढोका खुलाउन सशस्त्र प्रहरी निरीक्षकको टोलीलाई त्यसतर्फ पठाइएको जानकारी दिए ।

राजापुर–१ दौलतपुरका ३ सय २२ घर डुबानमा परेको नगर प्रमुख शिवप्रसाद चौधरीले बताए । राजापुर–१ को टिहुनीका १ सय ४ र चनौराका ४७ घर डुबानमा परेका छन् । कर्णाली नदीसँग जोडिएको गेरुवा गाउँपालिका–२ सनकटी र वडा–३ राजीपुरमा सयभन्दा बढी घरमा बाढी पसेको छ ।

राजापुर र गेरुवाका बाढीपीडितलाई अग्लो ठाउँका विद्यालय र आश्रय स्थलमा सारिएको छ । कर्णालीमा जलस्तर बढ्दै गएकाले उच्च सतर्कता अपनाइएको छ । उद्धारका लागि सेनाको हेलिकप्टर तैनाथ अवस्थामा राखिएको प्रजिअ सुनारले बताए । ‘बाढीको सतह बढी रहेकाले यस भेगका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ,’ उनले भने, ‘तटीय क्षेत्रका बासिन्दालाई खाद्यान्न, लत्ता–कपडालगायतका सामग्री सशस्त्र प्रहरी र नेपाल प्रहरीले व्यवस्था गरिरहेका छन् ।’

जलमग्न जनकपुर

सोमबार रातिदेखिको वर्षाका कारण जनकपुरको नगर क्षेत्र जलमग्न भएको छ । जनकपुर–२ को गिरिजा सिनेमा हल, किशोरी नगर, भानुचोक, शिवचोक, ४ को राराब क्याम्पस जाने बाटो, एसएसपी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयभित्र पानी पसेको थियो ।

शिवचोकस्थित दर्जनभन्दा बढी पसल तथा गोदाममा पानी पस्दा करोडौं मूल्य बराबरको लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानमा क्षति पुगेको व्यवसायीहरूले बताएका छन् । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत एक अर्बको लगानीमा दुई वर्षअघि मात्र तयार भएको नालीबाट पानी निकास नहुँदा नगर क्षेत्र डुबानमा परेको हो ।

बेंसीसहर–चामे सडक फेरि अवरुद्ध

बाढीपहिरोले हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । गत जेठ ३१ पछिको भीषण बाढीपहिरोले क्षतविक्षत बनाएको सडक दसैंअघि मात्रै खुलेको थियो । झन्डै ४ महिनापछि खुलेको सडक बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले पुनः अवरुद्ध बनाएको हो । मर्स्याङ्दीको बाढीले विभिन्न स्थानका अस्थायी पुल र सडक नै बगाएको छ ।

बेंसीसहरदेखि मनाङसम्मको ६५ किलोमिटरमध्ये लमजुङ खण्डको म्यार्दीसम्म ३५ किमि छ । उक्त खण्डको केही भागमा बाढीपहिरोले बिगारे पनि यातायात सञ्चालनमा छ । तर म्यार्दी–चामे खण्डको ठाउँठाउँमा सडक क्षतविक्षत हुँदा सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङमा पहिरो खसेको छ । तिमाङखोलाको अस्थायी काठे पुल बगाएको छ । दानक्यु नजिकैको अस्थायी काठेपुलमा पनि क्षति पुगेको छ । बगरछाप, एक्लेभट्टी, खोत्रो, निगालाघारीमा ठाडोखोलाले सडक बगाएको छ । तलेखु माथिल्लो क्षेत्रको सडक

मर्स्याङ्दीको बाढीले कटान गरेको छ । ‘बेंसीसहर–चामे सडकको मनाङ खण्ड पूर्ण रूपमा बन्द छ,’ उनले भने, ‘चामेका पल्साङ, लामाले, भ्राताङदेखि तल र तलेखुदेखिमाथिको क्षेत्रमा केही समयअघि निर्माण भएको सडक दलदले हिलोमा परिणत गरिदिएको छ, केही खण्ड बाढीले डुबाएको छ ।’

मर्स्याङ्दीले सडक बगाएपछि मर्स्याङ्दी गाउँपालिका–८ र वडा–७, ६ र ५ बीचको सडक सम्पर्क टुटेको छ । ‘जेठ ३१ पछिको बाढीपहिरोले क्षति गरेको सडक मर्मतपछि सञ्चालनमा थियो । अहिले फेरि त्यही स्थानमा क्षति पुर्‍याएको छ,’ उनले भने, ‘पानीको बहाव नघटेसम्म सडक मर्मत गर्न सक्ने अवस्था छैन ।’

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बाढीपहिरोले पुर्‍याएको क्षतिबारे लगत संकलन भइरहेको जानकारी दिए । पहिरो पन्छाई अवरुद्ध सडक सञ्चालन गर्ने प्रयाससमेत भइरहेको उनले बताए । ‘असारमा बाढीपहिरोले सडक र पुल बगाएपछि मनाङ बिस्तारै तंग्रिँदै थियो । अहिले फेरि उस्तैगरी बाढीपहिरो चलेको छ । असारमा पुल बगाएपछि निर्माण गरिएका विभिन्न स्थानका अस्थायी पुलमा क्षति पुगेको छ । ठाउँठाउँमा पहिरो खसेको छ,’ उनले भने, ‘सडक कार्यालयलाई मर्मतसम्भार र पहिरो पन्छाएर यातायात आवागमन पुनः सञ्चालन गर्न भनेका छौं ।’

डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउन र भत्केको सडक मर्मत गर्न समस्या भइरहेको सुनाए । ‘पानी रोकिनेबित्तिकै मर्मत थाल्छौं,’ उनले भने ।

सडक अवरुद्ध भएसँगै अन्नपूर्ण चक्रीय पदमार्ग घुम्न आएका पर्यटक र बटुवालाई समेत जोखिम बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले बताए । ‘कोरोना संक्रमण घटेसँगै पर्यटक आउन थालेका थिए । मनाङी व्यवसायीलाई बाढीपहिरोले फेरि चिन्ता थपिदिएको छ,’ उनले भने । कान्तिपुर 

सम्बन्धित समाचार