जुम्लाका बालबालिकालाई स्वअध्ययन सामग्री

खलंगा :  जुम्लाको तातोपानी गाउँपालिका भित्रका बालबालिकालाई स्वअध्ययन सामग्री वितरण गरिएको छ ।  तातोपानीका २५ वटा विद्यालयमा अध्ययनरत २६ सय २ बालबालिकालाई स्वअध्ययन सामग्री वितरण गरिएको हो ।

कक्षा एकदेखि तीनसम्म अध्ययनरत बालबालिकालाई सामग्री वितरण र  अभिभावकलाई सन्देश वितरण गरिएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जेआइसीए)का कार्यक्रम अधिकृत दीपराज रावतले बताए ।

तातोपानीका बालबालिकालाई गणित विषयमा  विद्यार्थीको सिकाइ क्षमतालाई सुदृढ बनाउनका लागि  यो कार्यक्रम लागु गरिएको रावतले बताए ।

‘विद्यार्थीले विद्यालयमा मात्र नभइ घरमा समेत अभिभावकको सहयोगमा  पढ्न सक्ने छन्’ उनले भने, ‘घरमा विद्यार्थीहरूको गणित सिकाइलाई बढुवा दिने उद्देश्यले कक्षा १–३ मा अध्ययनरत विद्यार्थीलाई गणित विषयको विकासका लागि स्वअध्ययन सामग्री परियोजनामार्फत वितरण गरिएको हो ।

तातोपानीका सबै सामुदायिक विद्यालयमा कक्षा एकदेखि तीनसम्म अध्ययनरत विद्यार्थीलाई उक्त सामाग्री वितरण  गरिएको तातोपानी गाउँपालिका अध्यक्ष अध्यक्ष नवराज न्यौपाने बताए । ‘यो सामग्रीले गणित विषयको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने छ’ न्यौपानेले भने ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मक्करबहादुर भण्डारीले बालबालिकाको बिकासका लागि अभिभावकले घरमा सिकाइ सहजिकरण गरी गणित विषयको शैक्षिक उपलब्धिमुलक बनाउन अनुरोध गरे ।

उनले भने, ‘शिक्षकहरूको सहयोगका साथै बालबालिकाहरूलाई घरमै सिक्नका लागि आफ्नो व्यस्तता बाबजुद पनि घरमा अभिभावकहरूले सहजिकरण गर्नुपर्छ’ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले वितरण गरेको सामग्री आपतकालिन मात्रा नभएर सबै नियमित अवस्थामा समेत प्रयोग गर्न सकिने अपेक्षा राखिएको छ ।

यस परियोजनाको समग्र उद्देश्य प्रारम्भिक कक्षा एकदेखि तीनसम्मका विद्यार्थीको गणित विषयको आधारभूत दक्षता सुधार ल्याउनु रहेको परियोजनाको दाबी छ ।

परियोजनाले गणित विषयको पाठ्यक्रम तथा पाठ्य सामग्री तयारीमा पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक पेशागत विकास, प्रधानाध्यपक नेतृत्व क्षमता विकास तालिम, स्थानीय शिक्षा योजना तयारी तथा गणित शिक्षाको प्रवर्द्धनका लागि स्थानीय निकायको क्षमता अभिवृद्धी कार्यक्रमहरु सञ्चालनमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको बताएको छ  ।

सम्बन्धित समाचार