माओवादीले पार्टी संगठनलाई व्यवस्थित बनाउने

एक व्यक्ति एक कमिटीमा मात्र बस्नु पर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले अब पार्टी संगठनमा ध्यान दिने भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकमा पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको संगठनलाई व्यवस्थित बनाउने सन्दर्भमा संगठन विभागले सुझाव र योजना पेश गरेको छ स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

संगठन विभागले पेश गरेका सुझाव र योजना पार्टीमा छलफल गरेर अगाडिा बढाउने बारेमा छलफल भएको साहले बताए। विगतमा विभिन्न पार्टीबाट एकीकरणमा आएका नेता, कार्यकर्ताहरु संगठित हुन छुटेका र कमिटीमा पनि नभएका सम्बन्धमा अध्ययन गरी कार्यदलले प्रतिवेदन पेशगरेको छ ।

कार्यदलले बुझाएको प्रतिवेदन अनुसार नै पार्टीको सांगठनिक प्रक्रियालाई अगाडि बढाउने निर्णय भएको साहले जानकारी दिए ।
माओवादी केन्द्रले पुसमा गर्ने राष्ट्रिय सम्मेलनमा देशभरीबाट १२ सय जति नेता कार्यकर्ता सहभागी हुने अनुमान गरीएको छ । साहले भने ‘राष्ट्रिय सम्मेलनमा १२ सयको हाराहारीमा नेता कार्यकर्ताहरु सहभागी हुने अनुमान गरीएको छ । त्यो भन्दा बढी पनि हुन सक्छन् ।’

माओवादीमा अब देखि एक व्यक्ति दुई कमिटीमा बस्न नपाउने भएको छ । बैठकले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको साहले बताए । उनले भने, ‘केन्द्रीय सदस्यहरु प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न पाउर्दनन् ।’

जिम्मेवारी नपाएका नेताहरुलाई कार्यदलले बुझाएको प्रतिवेदन र सुझावका आधारमा छिटै निर्णय लिने निर्णय बैठकले गरेको छ ।