झापामा एक वर्षमा २५ को हत्या, आफन्तबाटै मारिन्छन् अधिकांश

न्युज कारखाना
झापा, २५ भदौ

घटना- १ : झापा कमल गाउँपालिका- ७ का २३ वर्षीय दिनेश ऋषिदेवले २९ भदौ २०७७ मा ४२ वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरे । सामान्य घरायसी विवादमै मादक पदार्थ सेवन गरेका उनले आमालाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए । दिनेशलाई प्रहरीले तत्काल पक्राउ गर्‍यो ।

घटना- २ : १७ भदौ २०७७ मा शिवसताक्षी- ८ का ३२ वर्षीय मनकुमार लिम्बूले नजिकका साथी  शिवसताक्षी- ११ का २९ वर्षीय गोमनसिंह मगरको धारिलो हतियार प्रयोग गरी हत्या गरे । पारिवारिक रूपमा पनि निकै नजिक रहेका लिम्बूले मगरलाई रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा लगेर हत्या गरेका थिए । हत्याको कारण आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ ।

घटना- ३  : ४ असोज २०७७ मा कमल- २ मा ३४ वर्षीय रामजी थापाले धारिलो हतियार प्रयोग गरी २४ वर्षीया श्रीमती रीताको हत्या गरे । सामान्य घरायसी विवादमै उनले श्रीमतीको हत्या गरेका थिए । वैदेशिक रोजगारीबाट फर्किएका उनले श्रीमतीसँग बारम्बार झगडा गरिरहने प्रहरीले जनाएको छ ।

घटना- ४ : ६ भदौ २०७८ मा बिर्तामोड- ४ मा अटो चालक भात्रु राजवंशी मृत भेटिए । उनको शरीरमा चोट पटक देखिएपछि प्रहरीले हत्या अशंका गर्‍यो । हत्या आरोपमा उनकै भाइ ३८ वर्षीय रत्नलाल राजवंशी पक्राउ परे । सामान्य विवादमा दाजुको हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ ।

०००

आफ्नाले आफ्नालाई मारेका यी त प्रतिनिधिमूलक घटना हुन् । झापामा भएका हत्याका अधिकांश घटनामा आफन्त नै संलग्न देखिएको प्रहरी तथ्यांकमा छ । प्रहरीको तथ्यांक हेर्दा अरूबाट होइन, आफन्तबाटै बच्न मुस्किल देखिन्छ । सामान्य विवाद नै हत्यासम्मको अवस्थामा पुग्ने गरेको प्रहरीको तथ्यांकले बताउँछ । नजिकका साथीबाट भएको कतिपय घटनाको कारण आर्थिक लेनदेन पनि रहेको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा झापामा २५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापामा प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाकारी दिए ।

यी हत्यामध्ये १० जनाको हत्यामा आफन्तकै संलग्नता पाइएको उनले बताए । चालू आर्थिक वर्षको साउन र भदौको २४ गतेसम्म दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ । दुवैमा आफन्तको संलग्नता रहेको डीएसपी थापाले जानकारी दिए । प्रहरीका अनुसार आफन्तले गरेको हत्या अधिकांश योजनाबद्ध हुँदैनन् ।

आपसी विवादका क्रममा हत्यासम्मको अवस्था आउने गरेको प्रवक्ता थापाले जानकारी दिए । ‘आफन्त संलग्न भएको हत्याको घटनामा अधिकांशमा योजना बनाएर गरेको देखिँदैन । कतिपय घटना मादक पदार्थ सेवन गरेको समयमा भएको पाएका छौँ’, उनले भने, ‘घरायसी विवादका क्रममा आवेशमा आएर केहीले प्रहार गर्दा मृत्यु हुने गरेको पनि अनुसन्धानका क्रममा पाएका छौँ ।’

सम्बन्धित समाचार