एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस

काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेको छ।

बुधबार तेस्रोपटक बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन्।

एमाले सांसद सिटबाट उठ्न नपाउँदै रोष्ट्रमतर्फ अघि बढेका गृहमन्त्री खाँणलाई रोक्ने एमाले सांसदको प्रयास सफल हुन सकेन। सो क्रममा एमाले सांसद र मर्यादापालकबीच धकेलाधकेल समेत भएको थियो।

एमालेले आफूले कारबाही गरेका १४ सांसदले सभामुखले मान्यता नदिएको भन्दै बैठक चल्न दिएका थिएनन्। १५ मिनेटका लागि स्थगित गर्दै दुई पटक बसेको संसद बैठक अघि बढ्न नसकेपछि सभामुख अग्नि सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।