घर बनाएर छोराछोरीलाई पढाउने ठूलो सपना

११ वर्षदेखि श्रीमानको प्रतिक्षा गरिरहेकी विजमायाको संघर्षको कथा !

यो देशमा राष्ट्रपति को छ ? उत्तर सजिलो छ, महिला । विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् । तर यो देशमा दैनिक महिला बलात्कृत हुनु परेको छ । दैनिक कुटपिट हुने गरेको छ । हिंसामा परेका छन् । अनि महिला राष्ट्रपति भएको देशमा महिला नै सबैभन्दा बढी चरम हिंसामा परेका छन् ।

कर्णालीमा यसको कथा झन् फरक छ । दैनिक दर्जनौ महिला हिंसाको मारमा परिरहेका छन् । यसले महिला अधिकारको खिल्ली उडाइरहेको छ । कर्णालीमा पनि महिला मन्त्री छन् । तर पनि यसको आभार छैन । जुम्लामा यस्तै प्रकृतिको घटना घट्ने गरेका छन् ।

– महिला हिंसाको डरलाग्दो रुप

जिल्ला प्रहरी कार्यालय जुम्लाले केही दिनअघि जबरजस्ती करणीमा संलग्न तीन जनालाई पक्राउ गरेर थुन्यो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ बस्ने २० वर्षीय विशाल सार्की सोही ठाउँका २० वर्षकै कमल सार्की र तिला–८ बस्ने २८ वर्षीय जीवन रावत हुन् । भदौ ७ गते राती ११ बजेको समयमा तातोपानी गाउँपालिका–१ बाइराकी १८ वर्षीया एक किशोरीलाई पाल्ताडाँडामा रहेको जग्गन्नाथ मन्दिरमा मेला हेर्न गएको बेला उनीहरुले सामूहिक बलात्कार गरेका थिए । पीडितको मोबाइल खोसेर फिर्ता दिने बहानामा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा तिला गाउँपालिकाका एक जनालाई पनि पक्राउ गरेको छ । तिला गाउँपालिका–६ बस्ने ४५ वर्षीया बोल्न र सुन्न नसक्ने एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीया जीवन रावतलाई प्रहरीले पक्राउ गरेको हो । बोल्न, सुन्न नसक्ने पीडित नाम ती महिलालाई भैँसीलाई घाँस हाल्न भनी हिँडिरहेको समयमा तिला– ८ बस्ने वर्ष २८ को जीवन रावतले डर त्रास देखाएर यहीं भदौ ८ गते जबरजस्ती करणी गरेको जाहेरीपछि प्रहरी कार्यालयमा आएको  थियो ।

दैनिकजसो बलात्कारमा पर्ने महिलाहरु न्यायको लागि न्यायालयको ढोकामा पुगिरहेका छन् । तर, न्यायालय नाजवाफ छ । बलात्कारीहरु उम्किरहेका छन् । यस्ता घटनालाई निरुपण गर्ने सरकार र सरोकारवालाहरुलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । अर्थात उनीहरु यस विषयमा मुख खोल्न चाहँदैनन् । कर्णाली र पुरुषहरुको यही चरित्रका कारण दुर्गममा महिलाहरुको डरलाग्दो अवस्था छ । अपराधको श्रृंखला बढ्दो छ ।

– विजमायाको संघर्षशील कथा

कर्णालीमा संघर्षशील एक नाम हो, विजमाया जैशी । जुम्लाको गुठिचौर गाउँपालिका –५ फोइ गाउँकी हुन् विजमाया । बस्ने एउटा टहरो छ ।  त्यो पनि खुल्ला खेतमा । सँगै १२ वर्षकी छोरी, १४ वर्षको छोरा छन्  । श्रीमान ११ वर्षदेखि सम्पर्क विहीन छन् । विहिन भन्दा आफ्नै दुनियाँमा रमाइरहेका छन् । गाउँका दाजु भाइसँग सम्पर्क हुन्छ  । तर, घर परिवारको वास्ता छैन ।

विजमायाले यो दुःख ११ वर्षदेखि खेप्दै आएकी छन् । न त उनको कुरा गाउँले सुन्छ, न साथमा रहेको टहरोले । पानी पर्नु हुँदैन, चुल्होमै पानीको ताल पर्छ । घाम लाग्नु हुँदैन पोल्ने गर्छ । सुत्नको लागि आवश्यक पर्ने लत्ता कपडा समेत पर्याप्त छैनन । यसै त्यसै गरेर विजमाया आफ्नो जीवन निर्वाह गरिरहेकी छन् ।

नेपालमा संघीयता आएको छ । तर दुर्गमका महिलाहरुलाई यसबारेमा धेरै थाहा छैन । अहिले प्रत्येक स्थानीय तहमा महिला सम्बन्धी काम गर्ने शाखाहरु छन् । त्यो पहुँचवालाहरुका लागि मात्रै छ । विजमायाको विषयमा कसैले बोलेको छैन । उसो त अधिकारकर्मी हौं भनेर सडकमा धेरैको स्वर चिच्याउँदै गरेको सुनिने गरिन्छ ।  तर सडकका अधिकारकर्मीहरुले पनि विजमायाको कुरा सुनेका छैनन् । जीवन, संघर्ष र मृत्युको त्रास पालेर बाँचिरहेकी विजमायासँगको संक्षिप्त कुराकानीः

– यो पुरानो टहरो बनाएको कति भयो ?

पुरानो घर थियो । त्यसैमा जेनतेन बाल बच्चासँग जीवन निर्वाह गरिरहेको थिए । त्यहीं घर गएको पुस महिनाको हिमपातले भत्कियो । घर लगाएको जग्गा माइतीले दिएका थिए । साँझ बिहानको छाकको जोहो गर्न गाह्रो हुने मलाई घर बनाउने पैसा थिएन ।  त्यही भत्केको घरनेर काठे टहरा बनाएको हुँ ।

अरु दुःखमा परे माइत जान्छन् । आफ्नासँग सुख दुःख साट्छन् । मेरो त्यो बाटो पनि छैन । २० वर्ष अगाडी फोइ गाउँमा धर्म दत्त जैसीसँग मेरो विहे भएको हो । श्रीमानसँगै ज्याला मजदुरी गरेर जीवन राम्रै चलाएका थियौं । पछि विस्तारै परिवारका झगडा यस्तै हुन्  । अलि टाढा भयौं । त्यसमाथि भाइहरुको अंशबन्डा भयो । मेरो भागमा एक भारी खेत र एक हलको लेखमा रहेको जग्गा छ। त्यो बाहेक अरु केही छैन ।

– यस्तो अवस्था कसरी आयो ? 

११ वर्ष पहिले श्रीमान डोल्पा व्यापार गर्न गय ।  उनले करिब दुई वर्ष  उतै बिताए  ।  त्यसपछि तिहारको अघिल्लो दिन घरमा आए । तिहार मनायौं ।  तिहारको भोली पल्ट खुद्रा सामान किनेर ल्याउँछु, गाउँमै व्यापार गर्छु भनेर श्रीमान नेपालगञ्ज जानु भयो । त्यसपछि कहिले फर्किनु भएन । न त तिनी आए । न त खबर आयो । म तीनकै प्रतिक्षामा छु । बच्चा पालेर बसेको हुँ । अब के गर्ने ? शरिर पनि कमजोर हुँदै गएको छ । काम गर्ने अवस्था पनि छैन । हाम्रा दिन यसै गइसके जस्तै छन् । ११ वर्ष भयो श्रीमानको अत्तोपत्तो छैन । माइतमा बुढा बाबा छन् । दुई भाइ छन्  । दिदी छन् । माइतमा पनि घरको अवस्था कमजोर नै छ । घर बनाइदेउ पनि भन्न सकिदैन । यस्तै  छ । आफु ३९ वर्षको भइसके । केही छोरा र छोरीलाई छाक टार्ने जोहो भए हुन्थ्यो । समस्या त्यही त हो ।

– साँझ बिहानको छाक टार्ने काम कसरी भइरहेको छ ?

गाउँमा केही विकास आयो भने केही काम गर्छु  । त्यहीं काम गरेको पैसा पनि आज आज भोलि भोलि भन्छन् । दिदैनन् । महिनौं दिन कुरेपछि बल्ल दिन्छन् । चामल किन्ने समेत पुग्दैन । साहुलाई समेत दिन पुग्दैन । फेरी काममा पुरुषलाई बढी महिलालाई कम हुने गरेको  छ । यस्तै छ समस्या ।

– तपाईका लागि सरकारले के गरेको भए सहज हुन्थ्यो ?

राती ढुक्कले सुत्ने घर र छोरा छोरीलाई पढाइ दिए सबै सपनाहरु पुरा हुने थिए । कापी कलम किन्ने पैसा समेत छैन । अरु  त जसोतसो जोहो गर्थे । तर छोराछोरीको पढ्ने सपना पूरा गर्न साह्रै कठिन छ ।

– अनि घरमा एकल महिला ? कहिलेकाँही डर धम्की, कसैले आक्रमण गर्ने डर हुन्छ कि हुँदैन ?

हुन्छ, नि । कति महिला घरभित्रै मारिन्छन् । कति घरभित्रै कुटिन्छन् । कति वन जंगलमै बलात्कार गरेर मारिएका घटना सुनिन्छन् । एकल महिला देखेपछि कर्के नजर लगाउने समाजको चलन नै हो । तर शरिरमै जाइलाग्ने घटना म माथि भएको छैन । म मेरै संघर्षले बाँचेकी छु । कसैको डर धम्की सहन्न ।

– अन्तिममा केही भन्नु छ ?

यो देशमा महिला राष्ट्रपति छन भन्ने सुनेकी छु । हाम्रै कर्णाली प्रदेशमा पनि महिला मन्त्री छन् भन्ने सुनेकी छु । हामी पनि महिला हौँ । छोराछोरीको सास बचाउन गाह्रो छ । हामी जस्ता समस्यामा परेका महिलाका दुःख सुनिदिए हुन्थ्यो । गाउँमै पनि महिला जनप्रतिनिधि छन् । तर हामीलाई केही पाइँदैन । हामी जस्ता महिलाको दुःख बुझेको भए केही राहत हुन्थ्यो कि भन्ने लाग्छ । तर आशै त हो । अरु के हुनु र ?


error: Alert: Content is protected !!