रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट छुट्याइयो

काठमाडौं । सरकारले रेलमार्ग आयोजनाका लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ । जसमा पूर्वपश्चिम रेलमार्ग र अन्य रेलमार्गहरु रहेका छन् ।

अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले आगामी वर्ष जनकपुर–जयनगरसहितका रेलमार्गमा रेल चलाइने घोषणा गरेका छन् ।

विभागले पूर्व–पश्चिम रेलमार्गको एउटाबाहेक सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ । तर दुबै छिमेकी देशसँग जोडिने प्रस्ताववित अन्तरदेशीय रेलमार्गको विस्तृत परियोजना(डिपिआर) तयार गर्ने काम सम्बन्धित देशलाई नै दिएको छ ।

हाल विभागले पूर्व–पश्चिम रेलमार्गअन्तर्गत बर्दिवास–निजगढ खण्डको ७० किलोमिटरमा रेल्वे ट्रयाक निर्माण भइरहेको छ।

पश्चिमतर्फ बुटवलदेखि गड्डाचौकीसम्म चार सय २१ किलोमिटरको डीपीआर तयार भइसकेको छ । नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर बनिसकेको छ भने पूर्वमा इनरुवादेखि काँकडभिट्टा खण्डको डीपीआर पनि तयार छ ।

निजगढबाट हेटौंडा हुँदै नवलपरासीसम्मको खण्डको डीपीआर निर्माणको चरणमा छ । सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रूटलाई नौ खण्डमा विभाजन गरेको छ ।

मूल खण्डहरू नौ सय ४५ किलोमिटरको भए पनि पोखरा–काठमाडौं, काठमाडौं–वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने एक हजार तीन सय ७६ किलोमिटर हुनेछ ।