राष्ट्रिय एकतासहितको विकास र समृद्धिको अभिभारा पुरा गरोस्

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र ‘दिवस–२०७८’ नेपाली जनताका लागि ऐतिहासिक महत्वको दिन भएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले यस दिवसको महत्व र गरिमाले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पुरा गरोस् शुभकामना व्यक्त गर्नुभएको छ ।

गणतन्त्र दिवस–२०७८ को गौरवमय अवसरमा प्रदेशवासी एवं सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त मुख्यमन्त्री शाहीले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पुरा हुने सकेमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’सहितको राष्ट्रिय आकांक्षा सम्पन्न भएर मुलुकमा समाजवादी राज्य व्यवस्था स्थापना गर्न सहयोग पुग्ने बताउनुभएको हो । जननिर्वाचित संविधान सभाबाट आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना हुनुमा नेपाली जनताले दशकौं लामो समयदेखिको बलिदानीपूर्ण संघर्षको ऐतिहासिक उपलब्धि भएको उहाँको भनाई छ ।

गणतन्त्र स्थापनाको लागि नेपाली जनताले गरेका ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफ्नो ज्यानको आहुति दिने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँले ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन लगायतका सबैखाले न्यायपूर्ण आन्दोलन तथा संघर्षहरुमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

शुभकामना सन्देशमार्फत मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “गणतन्त्रको स्थापनापश्चात् नै हामीले समावेशी÷समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता, संघीयतालगायतका महत्वपूर्ण राजनीतिक उपलब्धिहरु प्राप्त गरेका छौं । ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु नै धरापमा पार्ने गरी अहिले भइरहेका असंवैधानिक र प्रतिगमनकारी कदमप्रति पनि सचेत रहन जरुरी भएको छ । गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा म सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिल गर्दछु ।”

कोभिड–१९ को गम्भीर संकटसँग मुकाविला गरी यो अवस्थाको अन्त्य गर्न प्रदेश सरकार पनि सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालनसहित लागिरहेको जनाउँदैै उहाँले नागरिकको जीवनरक्षाका लागि कर्णाली सरकारले आवश्यक नीति, बजेट, स्वास्थ्य सामग्री, जनशक्तिलगायतको यथोचित व्यवस्थापनमा ध्यान केन्द्रित गरेको बताउनुभयो । त्यसको निम्ति आगामी आव.को नीति तथा कार्यक्रम र बजेटलाई समेत कोभिड प्रतिकार्यमा केन्द्रित गर्ने तयारी भईरहेको भनाई छ ।

“कोरोना महामारीबाट सृजित परिस्थितिबाट निराश नभई धैर्य गर्न आग्रह गर्नुभएका उहाँले यसको नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले गरिरहेका प्रयासमा समग्र क्षेत्रबाट सहयोग पुर्याउन, सरकारले जारी गरेका निर्देशन अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड र निषेधाज्ञाको पूर्ण पालना गर्न आम जनसमुदायलाई अनुरोध गर्दछु,” सन्देशमा भनिएको छ

सम्बन्धित समाचार