भेरी अस्पतालका डाक्टर नर्सलाई आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता

काठमाडौं । बाँकेस्थित भेरी अस्पतालका बिहीबार चिकित्सकमाथि आक्रमण गर्ने तीन जना विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा दर्ता गरेको छ ।

बिहीबार राति ८ बजे कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले आइसियुमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपीहरु बिरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा दर्ता गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र धानुकले बताए । उनले भने–‘आक्रमणको नेतृत्व मानबहादुर रावतले गरेको देखिन्छ, प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अहिले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा दर्ता भएको छ ।’

आक्रमणमा संलग्नहरु दाङका तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावत हुन् । मृतकका भाइ मानबहादुर नेतृत्वको समूह आक्रमणमा उत्रिएपछि चिकित्सक र नर्सले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए ।

घटना छानविनका लागी स्थानिय प्रशासनले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिती गठन गरेको छ । समितीले ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन दिनेगरी काम शुरु गरिसकेको छ ।

स्वास्थ्यकर्मी काममा फर्किए

स्थानीय प्रशासन र लुम्बिनी प्रदेश प्रहरीले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि डाक्टर र नर्सहरु काममा फर्किएका छन् । सुरक्षाका लागी प्रहरी निरीक्षकको कमाण्डमा अस्पतालमा २५ जनाको टिम परिचालन गरिएको डीआईजी धानुकले बताए ।

सम्बन्धित समाचार