प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन ठिक थियो भन्न राष्ट्रका नाममा सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन ठिक थियो भन्ने प्रयत्न गरेका छन् ।
आज प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गदै आफूले दुबै पटक गरेको संसद विघटन ठिक थियो भन्ने कुरा पुष्टि भएको बताएका छन् । उनले यसको मुख्य जिम्मेदार आफ्नो पार्टीका केहि मानिस लगायत अन्य सबै राजनीतिक दल भएको आरोप लगाएका छन् ।

कोरोना महामारीले जनता आक्रान्त भइरहेको, निषेधाज्ञाले जनताको दैनिक जीवनमा असर गरिरहेको सन्दर्भमा ती विषयलाई उपेक्षा गर्दै ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अधिकांश समय आफ्नै राजनीतिक निर्णयको बचाउ गदै अन्य राजनीतिक दल र आफ्नो पार्टीको अर्को समुहलाई आलोचना गर्नमा समय खर्चेका छन् ।

सीमित व्यक्तिका स्वार्थ र कुण्ठाका लागि संसदलाई प्रयोग गर्न खोजिएको आरोप विपक्षीलाई लगाए । उनले गत फागुन ११ मा संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि प्रतिनिधिसभालाई पूर्ण अवधि सञ्चालन गर्नेमा आफ्नो ध्यान भएपनि अन्य दलहरूका कारण सफल हुन नसकेको आरोप लगाए । उनले भने ‘ प्रतिनिधिसभालाई पूर्ण कार्यकाल सञ्चालन गर्न र कामकाजी बनाउने उद्देश्यले नै आफूलाई विश्वासको मत दिन दलहरूलाई आग्रह गरेको तर दलहरुले आफूलाई विश्वासको मत पनि नदिएको र आफूले पनि बहमुत जुटाए सरकार बनाउन नसक्दा संसद विघटन गर्नु पर्ने अवस्था आएको हो ।’

प्रतिनिधिसभा नै अकर्मण्यतामा फसेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई राजनीतिक अन्योलबाट सकेसम्म छिटो मुक्त गर्न आफूले प्रयास गरेको दाबी गरे ।

उनले सरकारले स्वच्छ र निष्पक्ष रूपमै निर्वाचन गर्ने बताएका छन् । त्यसमा कुनै शंका भए सर्वदलीय चुनावी सरकारमा सहभागी हुन उनले आग्रह गरे ।
उनले भने ‘सरकारले समयमै निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्छ , कसैलाई त्यसमा शंका भए सर्वदलीय सरकारमा सहभागी भए हुन्छ ।’

उनले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएकै दिन अदालतमा विचाराधीन विषयमाथि राज्य संयन्त्र प्रयोग गरी टिप्पणी गरेका हुन् ।

उनले कोरोना विरुद्धको खोपको असमान वितरण विश्वव्यापी बहसको विषय बनेको र कोभ्याक्स एलाइन्सको समग्र योजना नै धर्मराएको टिप्पणी गरे । उनले कोरोनाबाट ठुला वा साना कुनै देश जोगिन नसकेको उल्लेख गर्दै उनले विकासशील देश अझ बढी प्रभावित भएको बताए । खोपको असमान वितरणका सन्दर्भमा विकसित मुलुकले अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गर्नुपर्ने उनको भनाइ थियो ।

लगत्तै उनले कोभिड महामारी र त्यसबाट सिर्जित समस्या, देखा परेका चुनौतीलाई पन्छाउँदै राजनीतिक घटनाक्रममा आफ्नो सम्बोधनलाई केन्द्रित गरे । उनले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, लोकतन्त्र सुदृढ गर्ने प्रयासमा पटक पटक अवरोध भएको आरोप लगाए । उनी अहिलेको प्रमुख समस्यामा केन्द्रीत नभएर अन्य राजनीतिक दलहरुलाई आरोप लगाउन बढी समय खर्च गरे ।

 

सम्बन्धित समाचार