भेरी अस्पतालमा डाक्टर नर्स कुटिएकोमा राष्ट्रपति भण्डारीद्धारा खेद व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटमा खेद व्यक्त गरेकी छन्।

शुक्रबार दिउँसो सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको लेखेकी छन्।

‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो,’ राष्ट्रपतिले लेखेकी छन्।

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्यसमेत रहेका मानबहादुर रावतले आफ्ना दाइको कोरोना उपचारको क्रममा मृत्यु भएपछि बिहीबार राति भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेका थिए।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको बिहीबार मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।

प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरिएको छ।

उनीहरूलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धानअगाडि बढाइएको बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताएका छन् ।

मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले स्रोतले बताएको छ ।

‘नर्स र डाक्टरहरुमाथि आइसियु कक्षमा नै हमला गरेको र थप आक्रमण हुनबाट बच्न नर्सहरू भागेर शौचालयतर्फ जाँदा त्यहाँ गएर पनि उनीहरूले आक्रमण गरेको नर्सहरुले बताउदै आएका छन् ।

केही नर्स ज्यान जोगाउनकै लागि अस्पतालको छतबाट पनि हाम फालेको नर्सहरु नै बताउछन् ।

उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

रावतका आफन्तले अस्पताल तोडफोड पनि गरेका थिए। ‘पंखा, टेबुल, कुर्सी र झ्याल ढोकासमेत तोडफोड गरेका अस्पताल प्रशासनको भनाइ छ ।

अस्पतालभित्रै रहेका एक कुरूवाले फोन गरेर बिरामीको मृत्यु भएको भन्दै अरू आफन्तलाई अस्पताल आइहाल्न भनेका थिए।

त्यसको केहीबेरमा उनीहरूले चिकित्सकमाथि आक्रमण गरेका थिए।

आफूहरूलाई आक्रमण गरेको विरोधमा गए राति अबेरसम्म चिकित्सक र नर्सहरूले अस्पताल परिसरमै विरोध गरेका थिए । आक्रमण गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग उनीहरूको थियो।

पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।

 

सम्बन्धित समाचार