मदन-आश्रितको त्यो हत्या, यो रहस्यमय दुर्घटना

वि.सं‍. २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगास्थित सडकबाट त्रिशुली नदीमा खस्यो। दुवै नेताको मृत्यु भयो।

त्यसपछि नेकपा (एमाले) ले जेठ ५ गते स्थायी कमिटी सदस्य केपी शर्मा ओलीको अध्यक्षतामा अन्य सदस्यहरूको नाम गोप्य राखी सो घटनाबारे छानबीन गर्न एक आयोग बनायो।

अमर लामा एक्लैले हत्या नगरेको निष्कर्ष ओली आयोगले नै तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

यसबीच एमाले पटक-पटक सत्तामा पुगेको, तर ‘मदन-आश्रित हत्याकाण्ड’ बारे छानबिन गर्न नचाहेको आरोप लाग्ने गरेको छ। सो घटनालाई राजनीतिक दाउपेचका लागि मात्रै एमालेले प्रयोग गरिरहेको आरोप लागिरहँदा छानबिन आयोगका अध्यक्ष अर्थात उनै ओली यतिखेर  नेकपा (एमाले) का अध्यक्ष र देशका प्रधानमन्त्री छन्‌।

मदन-आश्रितले जीवन गुमाएको २८ औं स्मृति दिवसका अवसरमा ओलीले प्रेस वक्तव्य जारी गरेका छन्‌। सो वक्तव्यमा चाहिँ ओलीको भाषा फेरिएको छ। पहिले हत्या ठहर गरेका ओलीले अहिले त्यसलाई ‘रहस्यमय दासढुंगा दुर्घटना’मा खुम्च्याइदिएका छन्‌।

​केही वर्ष अघिसम्म त एमालेले यही दिवसका दिन हत्याकाण्डबारे छानबिन गर्ने बताउने गरेको थियो। तर, ओलीले यो पटकको विज्ञप्तिमा छानबिन गर्ने आश्वासन दिएका छैनन्‌। जबकि, उनी आफैँ देशका कार्यकारी प्रधानमन्त्री छन्‌।

​अघिल्लो वर्ष साविक नेकपा हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी वक्तव्यमा आम नेपाली जनताले उक्त घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नभएको र घटनाको रहस्य अझै उद्घाटित हुन नसकेकाले दासढुङ्गा दुर्घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए।

जेठ ३ को त्रासदी

मदन-आश्रितको स्मृतिमा मदन भण्डारी फाउण्डेशनले ‘श्रद्धाञ्जलि’ पुस्तक प्रकाशन गरेको छ। सो पुस्तकमा २०५० साल जेठ ३ गते भएको सो दुर्घटनाबारे लेखिएको सारसंक्षेप यस्तो छ :

पार्टी महासचिव मदन भण्डारी २०५० जे७ २ गते हवाइजहाज चढेर पोखरा पुगेका थिए। सोही दिन पार्टीका स्थायी समिति सदस्य एवम्‌ संगठन विभाग प्रमुख जीवराज आश्रित पनि पोखरा पुगे। दुवै नेता जेठ ३ गते पोखरामा कास्की-एमालेको अधिवेशनमा भाग लिन त्यहाँ पुगेका थिए।।

आश्रित सवार जीप (बा.अ.च. ८७९३) का चालक अमर लामा थिए।

अर्को दिन जेठ ४ गते चितवनमा महिला कार्यकर्ता भेला डाकिएको थियो। मदन-आश्रित त्यहाँ पुग्ने कार्यक्रम थियो। पोखराको कार्यक्रम सकेर उनीहरू जेठ ३ गते दिउँसो २ बजेतिर नै सोही जीपमा चढेर चितवनतर्फ लागे।

सो जीपमा तेस्रो व्यक्ति ऋषि कट्टेल पनि थिए। कट्टेल चाहिँ तनहुँको आँबुखैरेनीमा झर्नेगरी नेताहरूसँगै आएका थिए। उनी ५ बजेतिर आँबुखैरेनीमा उत्रिए।

(गोरखाका कट्टेल उनै हुन्‌, जसले पछि एमालेबाट छुट्टिएर नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेका थिए। तीन वर्षअघि एमाले र माओवादी गाभिएर सोही नाममा अर्को एकीकृत पार्टी खोलेका थिए र पछि अदालतले सो नाम ऋषि कट्टेलकै पार्टीको हुने फैसला सुनाएपछि अहिले एमाले र माओवादी पहिलेकै आ-आफ्नो बाटो लागिसकेका छन्‌।)

सिमसिम पानी परिरहेको थियो। पार्टी झण्डा फहराउँदै गुडेको जीप मुग्लिनबाट निकै वेगका साथ चितवनतिर लागेको मानिसहरूले देखेका थिए। मुग्लिनङभन्दा सवा किलोमिटर पर जीप रोकियो। चालक अमर लामा ट्वाइलेट गए र मदन भण्डारीले चिया पिए। आश्रितले चिया पिए/पिएनन्‌ भन्ने चाहिँ पुस्तकभित्रको यो शीर्षकमा खुलाइएको छैन।

करिब साढे पाँच बजे सो जीप त्रिशुली नदीको किनारमा पर्ने दासढुंगाबाट खस्यो। ड्राइभर लामालाई खास केही भएन। उनी बा.अ.ज. २६०४ नम्बरको जीप चढेर नारायणगढतर्फ लागे। नारायणगढ पुगेर लामाले स्थानीय एमाले कार्यकर्ता र एमाले केन्द्रीय कार्यालयमा खबर गरे।

दुर्घटना भएको एक घण्टाभित्रै कार्यकर्ता र स्थानीयबासी तथा पौने सात बजेतिर चितवन प्रहरी पनि दुर्घटनास्थलमा पुग्यो। सेनाको उद्दार टोली पनि खटियो।

राति १० बजेतिर बल्ल पानीमुनि सो जीप रहेको स्थान पत्ता लाग्यो। भोलिपल्ट बिहान ८ बजेतिर गाडी निकालियो। गाडीको पछिल्लो सिटमा हेडरेस्टले घाँटी च्यापिएको अवस्थामा आश्रितको शवमात्र भेटियो।

त्यसपछि भण्डारीको खोजी हुन थाल्यो। डुङ्गा र हेलिकोप्टर समेत परिचालन गरियो। जेठ ५ गते बिहान ८ बजेतिर उनको शव दासढुंगाभन्दा ३२ किलोमिटर पर चितवनको गुञ्जनगर क्षेत्रमा त्रिशुली नदीको बगरमा छिपछिपे पानीभित्र भेटियो।

दुवै नेताहरूको शरीरमा गहिरो चोटपटक लागेको र हत्या भएको पर्याप्त आधारहरू भेटिएको श्रद्धाञ्जलि पुस्तकमा उल्लेख छ।

तीन आयोग, अनेक कुरा

खबर सार्वजनिक हुनासाथ सो दुर्घटनालाई अनेक षडयन्त्रवादी कोण तथा आशंकाका दृष्ट्रिले हेर्न थालिएको थियो।

मदन र आश्रित दुवै नेता त्यतिखेर नेपाली वामपन्थी आन्दोलनमा निकै लोकप्रिय थिए। कम्युनिष्ट पार्टीमा आस्था राख्नेमात्रै होइन, आम नागरिकमाझ उनीहरूको लोकप्रिय छवि बनिरहेको थियो।

त्यसैकारण सरकारले जेठ ४ गते उक्त दुर्घटनाको छानबिन गर्न भूतपूर्व न्यायाधीश प्रचण्डराज अनिल रहेको एक सदस्यीय आयोग बनायो। सो एक सदस्यीय आयोगको विरोध भयो। तर, एमालेले सो आयोगमा अरू व्यक्तिलाई समावेश गराउनुपर्ने माग राखेन।

बरू, जेठ ५ गते सो पार्टीले स्थायी कमिटी सदस्य केपी ओलीको अध्यक्षतामा अन्य सदस्यहरूको नाम गोप्य राखी अर्को आयोग बनाएको थियो

जेठ ६ गते मूल्यांकन मासिकको अग्रसरतामा विभिन्न पेशा र क्षेत्रका बुद्धिजीवीहरूको एक भेलाले उक्त दुर्घटनाबारे छानबिन गर्न ‘नागरिक छानबिन समिति’ गठन गरे।

सरकारी ‘अनिल आयोग’ ले असार ३ गते छानबिनसम्बन्धी विज्ञप्ति प्रकाशित गरे। सो विज्ञप्तिमा ‘…तथ्यसम्बन्धी रिपोर्ट तथा विश्लेषण गरिएको छ, सोही आधारमा आयोगबाट संकलन हुन सकेका तथ्य र सबुत प्रमाणको आधारमा यो दुर्घटना अरू कुनै शक्ति या व्यक्तिले षडयन्त्र गरी गराएको घटना भन्न सकिने अवस्था छ वा छैन भनी विचार गर्नुपरेको छ…त्यसकारण षडयन्त्रको कथनलाई यो आयोग अस्वीकार गर्दछ…निज चालक अमर लामाले पालन गर्नुपर्ने सतर्कता देखाउनुपर्ने होसियारी राखेको पाइएन…।

उता, ओली आयोगले पनि २०१५० असार १० गते उक्त पार्टीको त्यतिखेरको कार्यालय बागबजारमा पत्रकार सम्मेलन आयोजना गरी ओली आयोगको प्रतिवेदन सार्वजनिक गर्‍यो।


दासढुङ्‌गा दुर्घटनाबारे ओली आयोगको प्रतिवेदन

मूल्यांकन मासिकको अग्रसरतामा गठित पद्मरत्न तुलाधर अध्यक्षताको नागरिक छानबिन समितिले पनि २०५० पुस १५ गते प्रतिवेदन सार्वजनिक गर्‍यो।

सो प्रतिवेदनमा मदन-आश्रितको मृत्यु नियोजित भएको ठहर गर्‍यो।

नसुल्झिएको, तर बिझिरहेको दुई घटना

सार्वजनिक चासो राख्नेगरी नेपालमा भएका अनेकन घटना, दुर्घटना र हत्याकाण्डमध्ये दासढुंगा दुर्घटना र नारायणहिटी दरबार हत्याकाण्ड सबैभन्दा विवादित मानिन्छ।

सरकारी छानबिन प्रतिवेदनले जस्तो निष्कर्ष निकालेपनि या साक्षी भनिएका व्यक्तिहरूले जसरी बकेपनि आम मानिसहरू यी घटनामा ठूलो षडयन्त्र रहेको र सत्यतथ्य अझै बाहिर नआएको भनिरहेका छन्‌।

त्रिशुलीमा मदन-आश्रितले ज्यान गुमाएको ९ वर्षपछि २०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबारमा नरसंहार मच्चिएको थियो। सो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो।​थाहा खवरबाटसभार