एकैदिन कर्णालीमा ८ कोरोना संक्रमितको मृत्यु

दोस्रो लहरको नोबेल कोरोना भाइरस ((कोभिड–१९) को संक्रमणबाट कर्णाली प्रदेिशमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कर्णालीमा आठ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका ५ सुर्खेतका ६३ वर्षीय, वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका ४५ वर्षीय, वीरेन्द्रनगर वडा नं.८ का ६३ वर्षीय, वडा नं. ११ का ५३ वर्षिय र वडा नं. १२ का ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी, सिद्धकुमाख गाउँपालिका २ सल्यानका ४२ वर्षीय, मुसिकोट नगरपालिका ४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका ६ दैलेखका २७ वर्षीय महिलाको मृत्यु भएको निमित्त निर्देशक डा.खड्काले बताउनुभयो । मृत्यु भएका सुर्खेतका तीन व्यक्तिमा आरटी पीसीआर र बाँकी अन्य जिल्लाका पाँच जनामा एन्टिजेन पोजेटिभ देखिएको उहाँले जनाउनुभयो ।

निर्देशनालयले बताए अनुसार कर्णाली प्रदेश अस्पतालमा चार, सल्यान जिल्ला अस्पताल, रुकुमपश्चिम र दैलख जिल्ला अस्पतालमा एक÷एक जनाको मृत्यु भएको छ । कर्णालीमा एकैदिन ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भने यो पहिलो पटक हो । मृतक सबैको जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्था गरिरहेको जनाईएको छ ।

आज ८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा आरटी पीसीआर परीक्षण गर्दा १०८ र एन्टिजेन परीक्षणबाट १४३ गरी जम्मा २५३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा आरटी पीसीआर परीक्षणबाट कोरोना संक्रमित हुनेको संख्या ८ हजार ५६७ र एन्टिजेन परीक्षणबाट ७८० जना पुगेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

सम्बन्धित समाचार