‘नक्सा टाँसेर सस्तो राष्ट्रवाद देखाउनेहरूले प्रत्यक्ष संवादमा ग्रेटर नेपालको विषय किन उठाउन सकेनन् ?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणमा नेपालको राष्ट्रिय हितका ठोस विषय नउठाएको टिप्पणी गरेका छन् । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले भ्रमण उपलब्धिमूलक बन्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले स्वदेशमा आफ्नै सेनाको ‘गार्ड अफ अनर’ नलिने तर विदेशमा गएर त्यसमा रमाउने अनौठो प्रवृत्ति देखिएको बताए । उनले भ्रमणका क्रममा प्रस्तुत गरिएका विषयहरू पहिले नै तय भइसकेका र बनिसकेका पुरानै एजेन्डा भएको उल्लेख गरे ।

उनका अनुसार तल्लो अरुण पहिले नै सम्झौता भइसकेको विषय थियो भने मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पनि पहिले नै बनिसकेकाले केवल उद्घाटनको बटन थिच्ने काम मात्र भएको हो । भैरहवा विमानस्थलको हवाई रुटको विषय समेत पुरानै रहेको उनले स्पष्ट पारे ।

भूकम्पपछिको अन्तर्राष्ट्रिय सम्मेलनमा घोषणा गरिएको सहयोग रकम अझै नआएको उल्लेख गर्दै ओलीले अहिले आएको भनिएको रकम व्यवहारमा अनुवाद हुनुपर्ने चाहना व्यक्त गरे । तर भ्रमणमा न त प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनबारे कुरा भयो, न त सीमा समस्या समाधानको विषय नै उठ्यो ।

नेपालको भूमि समेटेर भारतले नयाँ नक्सा छापेपछि आपत्ति जनाएको र नसच्चिएपछि नेपालले पनि नयाँ नक्सा जारी गरेको स्मरण गराउँदै उनले प्रश्न गरे, ‘नक्सा टाँसेर सस्तो राष्ट्रवाद देखाउनेहरूले भारत भ्रमणमा जाँदा प्रत्यक्ष संवादमा ग्रेटर नेपाल वा नक्साको विषय किन उठाउन सकेनन् रु’ देखावटी कुरा गर्न सजिलो भए पनि यथार्थमा दुई देशको सम्बन्धलाई पारस्परिक लाभ र सम्मानका आधारमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । दुवै देशका प्रधानमन्त्रीको सहमतिमा ईपीजी गठन भई प्रतिवेदन तयार भएको तर भारतले त्यो प्रतिवेदन बुझ्न नमानेपछि कम्तीमा नेपालका तर्फबाट कुरा उठाउनुपर्ने उनले बताए ।

प्रधानमन्त्री भारत जाँदा साथमा सिङ्गो देशको भावना र समर्थन नरहेको र भ्रमण निजी जस्तो मात्र देखिएको ओलीको भनाइ छ । त्यही कारण राष्ट्रिय हितका एजेन्डा नबनेको तथा वातावरण संरक्षण जस्ता क्षेत्रीय स्तरका मुद्दामा समेत कुनै नयाँ पहल नभएको उनले बताए । भ्रमणमा केवल पुरानै शब्दावली ‘सम्बन्ध सगरमाथा जस्तो उच्च र हिन्द महासागर जस्तो गहिरो छ’ भनेर औपचारिकता मात्र निभाइएको उनले टिप्पणी गरे ।

‘चिकेन नेक’ (सिलिगुढी करिडोर) को प्रसङ्गमा अध्यक्ष ओलीले त्यो नेपालको सरोकारको विषय नै नभएको स्पष्ट पारे । सन् १९४७ मा भारत र पाकिस्तान विभाजन हुँदा उक्त क्षेत्र बनेको उल्लेख गर्दै उनले पछि १९७१ मा बङ्गलादेश बन्दा वा केही वर्षअघि भारत र बङ्गलादेशबिच भूमि साटासाट हुँदा त्यो समस्या समाधान हुन सक्ने बताए ।

सन् १८१६ को सुगौली सन्धिपछि मेची नदी नेपालको सीमा कायम भइसकेकाले १९४७ पछि सिर्जना भएको समस्यासँग नेपालको कुनै सम्बन्ध नरहेको उनको तर्क छ । उनले यस्ता अनावश्यक कुरामा नेपाल अल्झिन नहुने धारणा राखे ।

सम्बन्धित समाचार