पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती
मुगु :मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुले सास्ती खेप्नुपरेको छ। खत्याड गाउँपालिका–८, नुवाखेतमा निरन्तर सुक्खा पहिरो खस्न थालेपछि उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो।
जनजीवन प्रभावित, आवतजावतमा कठिनाइ
सडक अवरुद्ध भएपछि खत्याड गाउँपालिकाका ११ वटै वडाका स्थानीयवासीको आवतजावतमा समस्या भएको छ। यसका साथै रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र जुम्लाको गोठीज्युला जाने यात्रुसमेत प्रभावित भएका छन्।विशेषगरी सदरमुकाम, गाउँपालिका केन्द्र, इलाका प्रशासन कार्यालय, स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सेवा लिन जाने नागरिकहरू बढी मर्कामा परेका छन्। महिला, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवतजावत गर्न थप कठिनाइ भएको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार पहिले करिब पाँच मिनेटमा पार गर्न सकिने सडकखण्ड अवरुद्ध भएपछि अहिले वैकल्पिक पैदलमार्गबाट आधा घण्टाभन्दा बढी कठिन उकालो चढ्नुपर्ने र त्यसपछि १५ देखि २० मिनेटसम्म ओरालो झर्नुपर्ने बाध्यता छ।
कृषि, सिँचाइ र पूर्वाधारमा ठूलो क्षति
पहिरोले सडकमा मात्र नभई सिँचाइ कुलो, झोलुङ्गे पुल, खानेपानीका संरचना, गोरेटो बाटो तथा ठूलो क्षेत्रफलको खेतीयोग्य जमिनमा समेत क्षति पुर्याएको छ। पहिरोका कारण आसपासका घरबस्तीसमेत जोखिममा परेपछि स्थानीयवासी त्रसित बनेका छन्।
खत्याड गाउँपालिका ८, आमगाउँका स्थानीय सम्पत्ति कार्कीका अनुसार पहिरोले तल्लो क्षेत्रका तीन–चार गाउँमा रहेका सिँचाइ कुलो र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ।
‘लगभग पूरै पालिकालाई खाद्यान्न उपलब्ध गराउने आमजिउलाको खेतीयोग्य जमिन अहिले बाँझो हुने अवस्थामा पुगेको छ,’ कार्कीले दुःख व्यक्त गर्दै भने।
गहुँ छर्ने समय भइसक्दा पनि सिँचाइ कुलो र बाटो अवरुद्ध भएकाले किसानहरू चिन्तित बनेका छन्। पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्याएपछि आगामी कृषि उत्पादनमा समेत असर पर्ने देखिएको छ।
मुख्यमन्त्रीद्वारा अनुगमन, दीर्घकालीन समाधानको प्रतिबद्धता
गत कात्तिक ९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए। अनुगमनका क्रममा उनले तत्काल सडक सञ्चालनमा ल्याउने तथा दीर्घकालीन समाधान खोज्न भूगर्भविद्सहितको प्राविधिक टोलीबाट अध्ययन गराउने प्रतिबद्धता जनाएका थिए।
समस्या समाधानका लागि आइतबार खत्याड गाउँपालिकाका वडा नं। ६, ८ र ११ का वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, स्थानीय बासिन्दा तथा सरोकारवालाबीच छलफल भएको छ।
छलफलले निर्माण समिति गठन गरी तत्काल सडक सञ्चालनमा ल्याउन र पहिरोको दीर्घकालीन समाधान खोज्न पूर्वाधार विकास कार्यालय मुगुसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।
पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख सुशील आचार्यले पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली पठाएर पहिरोको प्रकृति अध्ययन गरिने बताएका छन्। उनका अनुसार प्राविधिक अध्ययनपछि तत्काल सडक खुलाउने उपाय अवलम्बन गर्नुका साथै दीर्घकालीन समाधानका विकल्पसमेत पहिचान गरिनेछ।
खत्याड–रारा–गमगढी सडकखण्डको मुख्य प्रवेश मार्गमै पाँच सातादेखि यातायात ठप्प हुँदा स्थानीय जनजीवन, कृषि उत्पादन तथा पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको छ। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा अत्यावश्यक सेवामा समेत समस्या सिर्जना भएको छ।
प्रभावित स्थानीयवासीले तत्काल सडक सञ्चालनमा ल्याउन, क्षतिग्रस्त सिँचाइ तथा अन्य पूर्वाधारको पुनर्निर्माण गर्न र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन भूगर्भीय अध्ययनका आधारमा दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन्।







