दीपावलीमा प्लास्टिकका माला प्रयोग नगर्न छायाँनाथ रारा नगरपालिकाको आग्रह
गमगढी, मुगु: छायाँनाथ रारा नगरपालिकाले नजिकिँदै गरेको दीपावली ९२०८३० पर्वमा प्लास्टिकका मालाको प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाले प्लास्टिकका मालाको सट्टा स्थानीय पुष्पखेतीबाट उत्पादित प्राकृतिक फूलका माला प्रयोग गर्न अनुरोध गरेको हो।नगर कार्यपालिकाको कार्यालय, गमगढी, मुगुले २०८३ साल कात्तिक १६ गते सार्वजनिक सूचना जारी गर्दै स्थानीय कृषि तथा पुष्पखेतीलाई प्राथमिकता दिन नगरवासीलाई आग्रह गरेको छ।
स्थानीय किसानहरूले पुष्पखेतीलाई समेत प्राथमिकतामा राखेर उत्पादन गरिरहेको सन्दर्भमा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले यस्तो आग्रह गरिएको नगर प्रमुख विष्णुकुमार भामले बताएका छन्।
नगरपालिकाले दीपावलीका अवसरमा लक्ष्मीपूजाका दिन गाईलाई र भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मालामा बजारमा पाइने प्लास्टिकका मालाको प्रयोग नगरी स्थानीय स्तरमा उत्पादित प्राकृतिक फूलका माला प्रयोग गर्न सबै नगरवासी, युवा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गरेको छ।स्थानीय फूलको प्रयोगले वातावरण संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीय किसानको उत्पादनले बजार पाउने र पुष्पखेतीप्रति किसानको आकर्षण बढ्ने नगरपालिकाको अपेक्षा छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा नगरपालिकाको आग्रह तथा नीतिविपरीत प्लास्टिकका माला प्रयोग गरेको पाइएमा प्रचलित नियमअनुसार कारबाही गरिने उल्लेख गरिएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरण संरक्षण र किसानको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यसहित नगरपालिकाले यस वर्षको दीपावलीलाई स्थानीय फूलका माला प्रयोग गर्ने पर्वका रूपमा मनाउन नगरवासीलाई आग्रह गरेको छ।







