मुगुमा भलिबल खेलेर घर फर्किने क्रममा भिरबाट लडेर युवकको मृत्यु

जुम्ला :मुगुमा भलिबल खेल्न गएर घर फर्किने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–५ निवासी २६ वर्षीय रनसुर विक (राकेश) मुगुको खत्याड गाउँपालिका–८, नुवाखेत नजिकैको बाघमारे भिरमा मृत अवस्थामा फेला परेका हुन्।

प्रहरी चौकी रातापानीबाट प्राप्त जानकारीअनुसार, विकको शव २०८३ साल कात्तिक १३ गते दिउँसो करिब १ बजेर ४० मिनेटमा भिरबाट अन्दाजी १०० मिटर तल फेला परेको हो।

मृतकका जेठान मनबहादुर लुहारले इलाका प्रहरी कार्यालय रातापानीमा खबर गरेपछि प्रहरी नायब निरीक्षक निबन्धबहादुर बुढाको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलमा आवश्यक मुचुल्का तयार गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार युवकको मृत्यु कसरी र के कारणले भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

घटनाको पृष्ठभूमि

आफन्तजनका अनुसार रनसुर विक गत कात्तिक ८ गते भलिबल खेल्नका लागि मुगुको खत्याड गाउँपालिका–स्थित रातापानी आएका थिए। त्यसको भोलिपल्ट अर्थात् कात्तिक ९ गते रातापानीबाट आफ्नो घर बाजुरा फर्किने क्रममा उनी सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन भएको चार दिनपछि उनको शव बाघमारे भिरमा फेला परेको हो।घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट पश्चिमतर्फ करिब सात किलोमिटरको दूरीमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

सम्बन्धित समाचार